हरिनगर, ३० वैशाख । सुनसरीको हरिनगर गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारका लागि ५० शैयाको आइसोलेसन सञ्चालन गरेको छ । कोरोना महामारीले नागरिकलाई आक्रन्त बनाइरहेको अवस्थामा हरिनगर गाउँपालिकाले छिमेकी गाउँपालिकाद्वय बर्जु र देवानगञ्ज गाउँपालिको समन्वयमा ५० बेडको आइसोलेसन सञ्चालन गरेको हो ।

हरिनगर–१ भुटाहामा रहेको उक्त आइसोलेसनका ६ बेडमा अक्सिजनको सुविधासमेत छ । अरू दस वडा अक्सिजनसहितको बेड बनाएर सङ्क्रमितलाई उपचार गरिने हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले जानकारी दिए । नेपाली सेनाको टोलीलाई आइसोलेसनको सुरक्षाको व्यवस्थाको जिम्मा दिने उनले बताउँदै उनले आज नै सेनाको टोली आउन बताए ।

आइसोलेसनमा एक जना एमबिबिएस डाक्टरसहित सात जना चिकित्सकको टोली सङ्क्रमितको उपचार तथा हेरचाहमा खटिनेछन् । अघिल्लो लहरका बेला क्वारेन्टाइन बनाइएको स्वास्थ्य चौकीलाई करिब सात लाख खर्च गरेर मर्मत-सम्हार गरी आइसोलेसन बनाएको अध्यक्ष मियाँको भनाइ छ । छिमेकी पालिकाहरू बर्जु र देवानगञ्जसँग समन्वयमा आइसोलेसन बनाउने सहमति भए पनि हरिनगरको सक्रियता र खर्चमा आइसोलेसन बनेको उनले बताए ।

केही दिन अघिदेखि सञ्चालनमा आएको सो आइसोलेसनमा हाल दुई कोरोना सङ्क्रमित उपचाररत छन् । तीन जना भर्ना भएकोमा हरिनगरकै एक सङ्क्रमित निको भएर बिहीबार (आज) मात्र घर फर्किएको आइसोलेसन इन्चार्ज राजकुमार मेहताले जानकारी दिए । उनका अनुसार एक जना देवानगञ्ज गाउँपालिकाको र अन्य दुई जना हरिनगरको रहेकोमा हरिनगरका एक जना निको भएर डिस्चार्ज भएका छन् ।
प्रतिनिधिको गुनासो : सङ्क्रमित आइसोलेसन आउन मान्दैनन्
हाल हरिनगरमा सात सङ्क्रमित होम आइसोलेसमा छन् । उनीहरूलाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारे छलफलमा बसेको बताउँदै उनले सर्वसाधारण आइसोलेसनमा आउन नचाहेको बताए । आम सर्वसाधारणले आइसोलेसनको विषय नबुझेर घरमै उपचार गरिरहेको बताउँदै अध्यक्ष मियाँले घरमै उपचार गराउँदा सङ्क्रमितको ज्यान जान सक्ने जोखिम रहेको बताए ।

‘मान्छेहरू कोरोना लागरे घरमै बस्छन् अस्पताल आउनै चाहँदैनन्’, उनले ग्रामीण खबरसँग भने, ‘तर घरमा बस्दा अझ जोखिम हुन्छ । अब सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने र होम आइसोलेसनमा रहेका मानिसलाई उपचारका लागि ल्याउनेबारेमा छलफल हुँदै छ ।’ तीनै पालिकामा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई बोलाएर होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको उनले बताए ।

होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई स्वास्थ्यकर्मीसँग सम्पर्क गराएर अफ्ठेरो भएको अवस्थामा अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाउने पनि उनले बताए । हालसम्म हरिनगरामा चार जना कोरोना सङ्क्रमित निको भएका छन् भने हालसम्म कसैको मृत्यु भएको छैन ।





