२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ असाेज । प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १५ दिन भित्र भेन्टिलेटर र पर्याप्त आईसियू सुविधासहित १ हजार शैयाको कोभिड अस्पताल तयार पार्न प्रदेश सरकारसँग माग गरेको छ ।

मङ्गलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले कोरोना संक्रमण तीव्र गतिले फैलिरहेको र नागरिकहरुले न्यूनतम उपचार सेवासमेत नपाइरहेको बिषय औंल्याउँदै अस्पतालको प्रबन्ध गर्न प्रदेश सरकारसँग माग गरेको हो ।

नागरिकले उपचार नपाएर घर वा डेरामै छटपटाएर ज्यान गुमाईरहँदा पनि प्रदेश सरकारमा मानवीय संवेदना नदेखिएको कांग्रेसको आरोप छ । कोरोना महामारीका बेला उदासिन बनेको प्रदेश सरकारले दलको सुझाव नसुनेपछि पत्रकार सम्मेलनको आयोजना गर्नुपरेको प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कोरोना महामारीका बेला सरकार र राज्यका निकायहरु निरीह बनिरहँदा जनताले अनाहकमा ज्यान गुमाइरहेको आरोप लगाए ।

प्रदेश १ सरकार चैत्र महिनामा केही जवाफदेही देखिएपनि त्यसपछि एक्लै हिडँन थालेको र अहिले पनि सरकारले प्रतिपक्षसँग कुनै छलफल नगर्ने, सुझावप्रति ध्यान नदिने क्रियाकलाप गर्दै आएको उनको भनाइ छ । उनले मन्त्रीहरुले फोन नउठाउने, मन्त्रालयका जिम्मेवार कर्मचारीले बिषयलाई गम्भीरतापूर्वक नलिने जस्ता समस्याले समेत थप जटिलता थपेको भन्दै त्यसलाई सच्याउन माग गरे ।

संकटको समयमा जनसरोकारको बिषयमा छलफल गर्न नपाएको भन्दै नेता कोइरालाले संसदको बिशेष अधिवेशन बोलाउने सम्बन्धमा पनि छलफल भइरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा प्रयोग भएका ८ मध्ये ५ विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रमा प्रयोग भएका ५ मध्ये २ भेन्टिलेटर बिग्रिएको अवस्थामा रहेको स्पष्ट पारे ।

निजी अस्पतालहरुसँग पनि भेन्टिलेटर र आईसियु पर्याप्त नरहेको भन्दै कार्कीले समन्वय र सहकार्य गरेर नागरिकको उपचार प्रक्रिया सहज बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । यस्तै कांग्रेसले, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले साउन अन्तिम हप्तासम्म १ हजार शैयाको आईशोलेसन बनाउने भनी गरेको घोषणा समेत बोलीमै सिमित भएको आरोपसमेत लगाएको छ ।

यस्तै पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी प्रोटोकल सरकारबाटै उल्लंघन हुनु लज्जास्पद भएको नेपाली कांग्रेसको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!