
काठमाडौं, २८ असोज । कोरोना महामारीका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, वंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशेदेवीलगायतका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका हुन् ।
दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए ।
विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्नेप्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने उनले बताए । तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए ।
कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुलका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजाआजाबाहेकका सबै गतिविधि बन्द गरिएको छ ।
अन्यक्षेत्रलाई खुल्ला गरिएपनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन् ।