२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १३ जेठ । सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिन लागिएको बताए ।

नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीले पनि अनुमति मागेकोमा दिइएको छैन । तर सहसचिव भेटवालले दुवैलाई एकै प्रक्रियाबाट अनुमति दिइने बताए ।

“जुन प्रक्रियाबाट निफ्रालाई अनुमति दिइन्छ, त्यसैगरी अन्य कम्पनीलाई पनि अनुमति दिइन्छ, ” सहसचिव भेटवालले भने, “प्रतिस्पर्धी रुपमा विद्युत् व्यापारका लागि प्रक्रिया पुगेर आएका आवेदनलाई अनुमति दिइन्छ ।”

ऊर्जा उद्यमीले क्षेत्रीय विद्युत् व्यापारका लागि नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी सन् २०१८ मा नै स्थापना गरेका छन् ।  सो कम्पनीमा नेपालका निजी क्षेत्रको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने भारतीय इनर्जी एक्सचेन्जको १५ प्रतिशत सेयर छ ।

कम्पनीले तमोर बेसिनको पाँच सय मेगावाट बिजुली निर्यातका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ । बंगलादेशसम्म डेडिकेटेड प्रसारण लाइनको निर्माण वा अन्य कुनै संयन्त्रको प्रयोगलाई कम्पनीले जोड दिएको छ ।

विद्युत् विकास विभागले क्षेत्रीय विद्युत व्यापारका लागि तत्काल कानुनी प्रबन्ध नभएको भन्दै कम्पनीलाई अनुमति दिएको थिएन । सहसचिव भेटवालले भने प्रक्रिया अनुसार अब सबै कम्पनीले अनुमति पाउने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!