
विराटनगर, २९ असोज । विराटनगरस्थित विराट नर्सिङ होममा दुई वर्षीय बालकको मृत्यु भएको छ । सिराहको मानपुर खरसलवा गाउँपालिका घर भएका २ वर्षीय सिद्धार्थ सदा (मुसर) को मृत्यु भएको हो ।
सुनितादेवी सदाले छोरा सिद्धार्थको आन्द्रामा समस्या आएपछि सिराहको आरके मेडिसिटी हस्पिटल लगेकी थिइन् । सो अस्पतालले सामान्य उपचार गरेपछि थप उपचारको लागि विराट नर्सिङ होममा रिफर गरेको थियो ।
बालकको मृत्यु भएपछि अस्पतालले लापरवाही गरेको परिवारले आरोप लगाएका छन् । १५ असोजमा विराट नर्सिङ होममा भर्ना गरिएको बालकको आन्द्रा फुटेको भन्दै अस्पतालले पहिलोपटक शल्यक्रिया गरिदिएको मृतकको परिवारको भनाई छ ।
मृतकका परिवारका अनुसार अस्पतालका सर्जन डा. आर. के. सिंहले बालकको शल्यक्रिया गरेको थियो । पहिलोपटक शल्यक्रिया गरेपछि सिद्धार्थले शौच गर्न सुरु गरेका थिए । शल्यक्रिया गरेको एक सातापछि पुनः स्वास्थ्यमा समस्या आयो । अस्पतालले दोस्रोपटक आफन्तको रिस्कमा डा. सिंहले २३ असोजमा शल्यक्रिया गरेको थियो ।
दोस्रोपटक शल्यक्रिया गरेको सोमबार साँझ बालकको मृत्यु भयो । अस्पतालले लापरवाही पूर्ण तरिकाले उपचार गरेको कारणले मृत्यु भएको मृतकका आमा सुनिताले बताइन् । ‘पहिलो पटक आन्द्रा काटेर जोड्न शल्यक्रिया गरेको रहेछ । त्यो सफल नभएपछि पुनः दोस्रो पटक शल्यक्रिया भयो,’ उनले छोरा गुमाएको पीडिा सुनाउँदै भनिन्, ‘पहिलो पटक गरिएको शल्यक्रिया राम्रो नहुँदा अहिले यस्तो हुन पुग्यो ।’
यता, अस्पतालका प्रसाशनका प्रमुख पदम बिडलाले गम्भीर अवस्थामा आएको बिरामीको उपचारको क्रममा मृत्यु हुन पुगेको बताए । ‘आन्द्रा फुटेर ल्याएको बिरामीको अवस्था गम्भीर थियो,’ उनले भने, ‘सुरुमै हामीले बिरामीको अवस्था नाजुक छ भनेर परिवारलाई जानकारी गराएका थियौं । उहाँहरूको रिस्कमा उपचार गरिएको हो ।’
शल्यक्रिया भएपछि वार्डमा सारिएको बिरामीलाई आफन्तले पानी दिएर सर्किएकोले पनि समस्या आएको अस्पतालको भनाइ छ । ‘आन्द्रा काटेर जोड्ने हो । यसलाई रिपियर भनिन्छ । टालिन पनि सक्छ । सढेर पनि जान्छ । संयोगले बालकको टालिएन,’ अस्पताल प्रशासन प्रमुख बिडलाले भने, ‘डाइनोसेस गर्दा पहिलो पटक शल्यक्रिया गरेको ठाउँबाट शौच बग्दै थियोे । यसलाई रोक्न पुनः दोस्रो पटक शल्यक्रिया गरिनुपर्ने हुन्छ । दोस्रो पटक गरिएको शल्यक्रिया जोखिम हुन्छ ।’
आफन्तको रिस्कमा जोखिम मोलेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ४० हजार तिर्न नसक्दा शव अस्पतालमै बन्धक सिद्धार्थको दुई पटक शल्यक्रियासहितको सम्पूर्ण खर्च करिब ३ लाख रुपैयाँ भएको मृतकका आफन्तले जानकारी दिएका छन् ।
उनीहरूले उपचार खर्च ७० हजार रुपैयाँ अस्पताललाई तिरिसकेको छन् । मुसर सामुदायकी सुनिताको अवस्था नाजुक छ । ‘छोराको उपचारको लागि भएभरको पैसा सकियो । अस्पताललाई तिरेको ७० हजार रुपैयाँ पनि ऋण खोजेर ल्याएर तिरेको हो,’ उनले भनिन्, ‘अहिले अस्पतालले ४० हजार रुपैयाँ तिरेपछि मात्र छोराको शव लान दिने भनेको छ । यत्रो पैसाँ कहाँ बाट ल्याउनु म जस्तो दुःखीले ? ’
सुनीताको छोराको उपचारको लागि फार्मेसीमा पनि ७० हजार पुगेको छ । फार्मेसीमा ९ हजार रुपैयाँ दिएकी छिन् । बाँकी पैसाँ दिन ताकेता गरिरहेको उनले सुनाइन् । सुरुमा ७० हजार तिरेपछि अस्पतालले १ लाख ९० हजार रुपैयाँ छुट गरेकोले अहिले ४० हजार रुपैयाँ बुझाएपछि मात्र शव लान दिने अस्पतालले भन्दै आएको मृतकका आफन्त शेखर ऋषिदेवले बताए ।
अस्पतालले ४० हजार रुपैयाँ नबुझाइ शव लान नदिने भएपछि चन्दा संकलन गरिने उनले बताए । ‘सदा परिवारमा कमाउने मान्छे कोही छैनन् । भएको पैसा छोराको उपचार गरेर सके । ऋणको बोज भइसक्यो,’ मृतकका आफन्त शेखरले भने, ‘अस्पतालबाट शव झिक्न चन्दा संकलन सुरू गरेका छौं ।’
सुनिताको श्रीमान सुनिल सदा एक महिना अगाडि मोटरसाइकलमा दुर्घटनामा परि मृत्यु भएको थियो । उनको पाँच वर्षको छोरा छन् । यता, अस्पतालका प्रशासन प्रमुख पदम बिडलाले आर्थिक अवस्था नाजुक भएको परिवार भएकोले हामीले भारी छुट गरेर न्यूनत शुल्क मात्र दिन भनिएको प्रतिक्रिया दिए ।