२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर / विराटनगरमा सरकारी गाडीभित्र बेहाेस भेटिएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक ३८ वर्षीय राजु ढकालको मृत्यु भएको छ । आफैँले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनलाई मंगलबार दिउँसो ३ बजेतिर बेहोस अवस्थामा फेला पारिएको थियो । सिट पल्टाएर सुतेजस्तो अवस्थामा बेहोस भेटिएका ढकाललाई तत्काल उद्धार गरेर उपचारका लागि लगिएको थियो ।

उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको अवस्थामा गाडीभित्रै चालक विराटनगर महानगरपालिका–३ मा बेहोस भेटिएका हुन् । घटनास्थल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नै अगाडि पर्छ ।

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई प्रहरीले उद्धार गरेर उपचारका लागि लग्यो,’ डीएसपी राईले भने, ‘अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।’ उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो पाइएकाले मृतकमा कोरोना संक्रमण भए-नभएको यकिन गर्न पीसीआर परीक्षणको तयारी गरिएको छ ।

उदयपुरको बेलका नगरपालिका–३ घर भएका चालक ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्थे । डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको पाइएको प्रहरीले जनाएको छ ।

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकाल मन्त्रालयकै क्वार्टरमा बस्छन् । उनले आफूलाई लिन आउनुपर्ने चालकलाई बेहोस अवस्थामा फेला पारिएको खवर आएको र हेर्न जाँदा मृत्यु भएपछि आफूले भेटेको जानकारी दिए । ढकालका अनुसार मन्त्रालयबाट आफूलाई लिएर सुनसरीतर्फ जानका लागि गाडी लिएर चालक बिहान १० बजे नै मन्त्रालयमा आइपुग्नुपर्ने हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!