झापा, २८ जेठ । झापाका छुट्टा छुट्टै स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । बिहीबार बेलुका पौने ६ बजे कमल गाउँपालिका ७ लालधोन्द्रामा खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउने क्रममा मोरङ बेलबारीका १४ वर्षीय सन्देश धिमालको मृत्यु भएको हो ।
स्थानीय महेन्द्र धिमालको खेतमा उनका भान्जा सन्देशको करेन्टले ज्यान लिएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लैजानै क्रममा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यसै गरी बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ की ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको बताइएको छ ।




