काठमाडौँ, ६ असार । सरकारले कर तिर्नको लागि असार २५ गतेसम्मको समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हाे ।
२०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।
सूचनामा भनिएको छ, ‘कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनुपर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई दृष्टिगत गरी आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७८/३/२ निर्णयानुसार कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गरिएको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ।’





