२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भई रु. १३८३ अर्ब ३६ करोड पुगेको छ । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामलको आयात घटेको छ । यस्तै दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरि, निर्याततर्फ तातोपानी, रसुवा र कञ्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, चालु आर्थिक वर्षको ११ औँ महिनामा आइपुग्दा कुल वस्तु व्यापार घाटा २४.६ प्रतिशतले वृद्धि भई रु. १२६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!