२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बागलुङ, ४ कात्तिक । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उनको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ ।

उनको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ ले चिनिन्छ । उद्योगमा सेरेना जातका २०० घार मौरी छन् । १०० घारबाट मह र १०० घारबाट मौरीका गोला बेच्ने गरेको उपाध्यायले बताए ।

अनुकूल मौसम पर्दा मह उत्पादन अझ बढ्छ । यो वर्ष भने अधिक वर्षाका कारण मौरीपालक किसान मर्कामा परेको उनको भनाइ छ । वर्षाले फूल झारेपछि मौरीको आहार गुम्छ । मौरी पनि चरनमा कमै निस्कन्छन् । उपाध्यायको उद्योगमा वार्षिक एक हजार २०० किलोसम्म मह उत्पादन हुन्छ । एक किलो मह रु एक हजार २०० मा बिक्री हुन्छ ।

उनका अनुसार वर्षको दुई याममा मह उत्पादन हुन्छ । एउटै याममा चार-पाँच पटकसम्म मह निक्लने गर्छ । मौसमले साथ दिएका बेला एउटै घारबाट आठ किलोसम्म मह आउँछ । उनले घरसँगै सदरमुकाम बागलुङ बजारबाट मह र मौरी बिक्री गर्दै आएको छन् । बाहिरी जिल्लाबाटसमेत उत्पादनको माग आउँछ । उपाध्यायले मौरीपालन रोज्ने किसानलाई तालिम पनि दिन्छन् ।

मौरीपालनमा लागेपछि उपाध्यायलाई कहिल्यै पछाडि फर्कनु परेन । ३४औँ विश्व खाद्य दिवसमा देशभरमै उत्कृष्ट सेरेना मौरीपालक किसानका रूपमा सम्मानितसमेत भइसकेका उनकाे उद्योगलाइ गण्डकी प्रदेश सरकारले दुई वर्षअघि नमूना मौरीपालन फार्म घोषित गरी रु पाँच लाख अनुदान दिएको थियो ।

सफल मौरीपालक किसानका रूपमा उपाध्यायको चिनारी गाउँठाउँमा फैलिएको छ । कतिपयले त उलाई ‘महराज’ भनेरसमेत बोलाउँछन् ।

उमेरमा विदेश जाने मोह उपाध्यायमा पनि नजागेको भने होइन । कैँयन हण्डर खाएपछि गाउँमै उद्यम गर्ने सोचले मौरीपालनमा लागेको उनले बताए ।

उनले भने, “मेरो पेशा र कमाइबाट म सन्तुष्ट छु, मेरो जिन्दगी नै मौरीको गोठालो भएर बित्ने भयो ।”

उपाध्यायको घर–व्यवहार मह-मौरीकै आम्दानीबाट चल्छ । जोगाएको पैसाले सम्पत्तिसमेत जोडेका छन् । उनलाई घरका सदस्यले पनि मौरीको व्यवसायमा उत्तिकै सघाउँछन् ।

तीन भाइ छोरा विदेश छन् । जेठी बुहारी राधा र माइली खिराले सदरमुकाममै बसेर मह-गोला बेच्ने प्रबन्ध मिलाउँछिन् । घरमै रहेकी कान्छी बुहारी शर्मिला उपाध्यायसँगै उद्योगमा दैनिक खट्छिन् । उनले ससुराबुवाको मेहेनत र लगाव सबैका लागि अनुकरणीय रहेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!