
जनकपुरधाम, ४ कात्तिक । जनकपुर उपमहानगरपालिका–२४ सोनापराका वैजनाथपुरकुमार मण्डलले दुई वर्षअघि मोटरसाइकल लिएका थिए । दुई वर्ष सुरक्षितका साथ कुदाएको ज–११–प २२३५ नम्बरको एफजेड मोटरसाइकल गत भदौं १० गते घरैबाट चोरी भयो ।
भदौ १० गते राति चोरले मोटरसाइकल चोरेर फरार भयो । तर, छिमेकमा रहेको सीसी क्यामेरा फुटेजमा चोरले मोटरसाइकल निकाल्दै गरेको पनि देखियो । अझ, त्यहीँ फुटेजबाट चोर पनि पत्ता लाग्यो ।
चोर रहेछन्, त्यहीँ गाउँका हशिबुल नदाफ । सीसी क्यामेराकाे फुटेज हेरेर नै गाउँबासी चोर पक्रन सफल भए । र, चोर फेला परेपछि उसलाइ जिरो माइल प्रहरी चौकीमा बुझाए । हशिबुलले प्रहरीसामु आफूले मोटरसाइकल चोरी गरेको पनि स्वीकारे । हशिबुलले प्रहरीलाई आफूले सो मोटरसाइकल धनुषाधामस्थित नरेश यादवको ग्यारेजमा बेचेको बताएका थिए ।
त्यति मात्र नभएर हशिबुलले प्रहरीकै सामुन्नेमा नरेशलाई फोन गरेर आफूले मोटरसाइकल दिएर दुई हजार लिएको पनि जनाए । सात हजार दिने सहमतिमा चोरी गरेको बताए पनि नरेशले आफूलाई दुई हजार दिएको र पाँच हजार पछि दिने शर्त भएको जनाए ।

पक्राउ परेका हशिबुल
विभिन्न मुद्दामा मुछिएका हशिबुललाई प्रहरीले चोरी मुद्दामै पूर्वपक्षका लागि सिन्धुलीको पठाइसकेको छ । तर, मोटरसाइकल धनी वैजनाथकुमार भने पीडित नै रहे । उनले हराएको आफ्नो मोटरसाइकल फेला पार्न सकेनन् । इलाकाले उनीहरुलाइ जिल्ला प्रहरीका कार्यालय पठायो ।
उनीहरुले जिल्ला प्रहरीमा नरेशलाई पक्राउ गर्न उजुरी दिए । तर, आफ्नै घरमा ग्यारेज चलाएर बसेका नरेश मोटरसाइकल लिएरै फरार भए । मोटरसाइकल धनी वैजनाथका दाजु जीवछ मण्डलका अनुसार नरेशले चोरीका गाडीहरु किन्ने र पार्ट्स फेरेर बेच्ने काम गर्दा रहेछन् ।
‘प्रोफेसनल चोर रहेको हशिबुलले नरेशको नाम लिएपछि खै कसरी उनलाई खबर पुगेछ र उनी मोटरसाइकल लिएर नै फरार भएछन्’, जीवछले भने, ‘नरेशले नै हशिबुललाई चोरीको गाडी ल्याएमा पैसा दिने बताएपछि उनीहरु यस्तो काम गर्दा रहेछन् ।’
नरेश फरार भएको थाहा पाएपछि उजुरी लिएर वैजनाथ र उनका दाजु जीवछ मण्डल जिल्ला प्रहरी कार्यालय धनुषा पुगे । एक महिना धाउँदासम्म नरेश पक्राउ पर्न सकेनन् । करिब डेढ महिना धनुषा जिल्ला प्रहरी कार्यालय धाएका उनीहरुले गत बिहीबार मात्र सरकारी वकिलमार्फत उजुरी दर्ता गराए ।
उजुरी दर्ता गरेको भोलिपल्ट नै प्रहरीले नरेशलाई पक्राउ गर्यो । ‘शुक्रबार हामीले नरेशलाई पक्राउ गरेका छौं’, धनुषाका डीएसपी मुकेन्द्रकुमार मिश्रले भने, ‘तथापि, उनको मोटरसाइकल भने फेला पार्न सकेका छैनौं । खोजी कार्य जारी छ । पक्राउ परेका नरेशमाथि पूर्पक्षका लागि म्याद थप गरिएको छ ।’

नरेश यादव
यता, पीडित पक्षले भने घटना रहस्यपूर्ण भएको र प्रहरीको पनि यसमा मिलेमतो रहेको आरोप लगाएका छन् । ‘लगातार एक महिना प्रहरी कार्यालय धाउँदा पक्राउ परेका नरेश सरकारी वकिलमार्फत उजुरी दर्ता गराएकै भोलिपल्टका दिन पक्राउ पर्नु रहस्यमय छ । फेरि नरेश पक्राउ गरेको कुरा जानकारी पनि आएन र पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गरिएन । मलाई लाग्छ प्रहरीको पनि यसमा मिलेमतो छ,’ जीवछले भने ।
केही दिनअघि नरेशको प्रतिनिधित्व गर्दै प्रहरी कार्यालय आएका नरेशका ससूरा अनुरुध यादवले पीडित पक्षलाई एक लाखमा घटना मिलाउन आग्रह गरेका थिए । पूर्वप्रहरीसमेत रहेका यादवले घटना गुपचुप राख्न भन्दै पीडित पक्षलाई मोटरसाइकल छोडिदिन र एक लाख रुपैयाँ लिन भनेका थिए । तर, पीडित पक्ष भने उनीहरुसँग सहमत भएनन् ।
‘हामीले न्याय पाएनौं । चोर भेटियो, किन्ने मान्छे पनि भेटियो तर मोटरसाइकल भेटिएन । मोटरसाइकल कहाँ छ त ?’, जीवछ भने, ‘प्रहरीले नरेशलाई कहिले सार्वजनिक गर्छ ? र मोटरसाइकलको खोजी कार्य कहाँ पुगेको छ त ?’