२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, ६ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बडादसैंका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, त्यही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बैठक आयोजना गरी मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् ।

चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिए । ‘दसैंका बेला कहीँं पनि विद्युत् काटिने समस्या नआओस् । मलाई विश्वास छ, ग्राहकबाट विद्युत् प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन,’ उनले भने ।

प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टोली रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनले व्यक्त गरे ।

प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न उनले आग्रह गरे ।

‘जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनूस्’, निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भने, ‘त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नुस् ।’

मन्त्री पुनले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गएकाे चैतमा लकडाउन घोषणा गरेलगत्तै प्राधिकरण सञ्चालक समितिले भारप्रेषण केन्द्रसहित संवेदनशील निकायका प्राविधिक कर्मचारीलाई आइसोलेशन वा क्वरेण्टीनमा राखेर काम गराउने निर्णय गरेको स्मरण गर्दै पूर्वतयारीकै कारण विद्युत् सेवा प्रवाह प्रभावित नभएकामा खुसी व्यक्त गरे ।

‘भारप्रेषण केन्द्र, नो लाइट र प्राधिकरणको मुख्यालयमा महामारी फैलिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो । सञ्चालक समितिले योजनाबद्ध रुपमा आफ्नै आइसोलेशन र क्वरेण्टीन बनाउने निर्णय गरेका कारण समुदायमा व्यापक रुपमा कोरोना महामारी फैलिँदासमेत प्राधिकरणको सेवा बन्द भएको छैन,’ उनले भने ,

महामारीका कारण ९० लाख विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेको र तीमध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत् सेवा अनियमित हुँदा उनीहरुको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो ।

उनका अनुसार बडादशैँ सकिएपछि तिहारका लागि फेरि अर्को बैठक बसेर योजना तय गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!