२०८२ मंसिर २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, ४ जेठ – विवाहित महिलाहरूको क्षमता अभिवृद्धि तथा प्रस्तुतिको उद्देश्यले आयोजना गरिएको मिसेस स्टेट २०२५, कोशी प्रदेश सिजन थ्री का प्रतिस्पर्धीहरू हाल प्रशिक्षणमा व्यस्त छन्।

वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा यही जेष्ठ १५ गते धरानमा हुने ग्रान्ड फिनालेको तयारीस्वरूप प्रतियोगीहरूलाई विभिन्न विधामा प्रशिक्षण दिइँदैछ। प्रतियोगीहरूलाई मिसेस स्टेटका कोरियोग्राफर डीजे ललित राईले स्टेज प्रस्तुति सम्बन्धी प्रशिक्षण गराइरहेका छन्।

वुमन्स वर्थ ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठका अनुसार प्रतियोगीहरूको शारीरिक र मानसिक क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइएको छ। आत्मरक्षा तालिम, सकारात्मक सोच विकास, उद्घोषण कला, व्यक्तित्व विकास, अर्गानिक कृषि फार्म भ्रमण लगायतका गतिविधिहरू सम्पन्न भइसकेका छन्।

आत्मरक्षाका लागि जुडो प्रशिक्षक तथा कोशी प्रदेश खेलकुद विकास बोर्डकी सदस्य रोशनी राई, व्यक्तित्व विकास र उद्घोषण कलाका लागि कौशिकी क्याम्पस चिफ तथा जेसिज धरानका पूर्व अध्यक्ष मोहन श्रेष्ठ र अर्गानिक कृषि सम्बन्धी तालिम सोताङ अर्गानिक, बसन्तटारका प्रोप्राइटर कृष्ण राईले प्रदान गरेका थिए।

कार्यक्रमका सचिव ज्योति राईका अनुसार वैशाख २४ गतेदेखि सुरु भएको तीन हप्ते विशेष प्रशिक्षण अझै केही समय जारी रहनेछ। धरान–९ स्थित इनलाइट फिटनेस हलमा स्टेज प्रस्तुति सम्बन्धी नियमित प्रशिक्षण भइरहेको छ।

सहभागीहरूलाई स्टेज प्रस्तुति मात्र नभई महिला अधिकार, महिला सशक्तिकरण, लैंगिक समानता, महिला उद्यमशीलता, न्यायिक अधिकार, संस्कार र पहिचान, महिला स्वास्थ्य समस्या तथा समाधान, प्राथमिक उपचार, उद्घोषण तथा भाषण कला, फोटोग्राफी, टेबल शिष्टाचार, फिटनेस, विजनेस टक, पर्यटन प्रवर्द्धन, मेकअप, र्‍याम्प वाक, क्याटवाक र फोटो सेसन जस्ता विषयमा पनि जानकारीमूलक तालिम दिइने सचिव राईले जानकारी दिइन्।

सिजन थ्रीमा १९ जना प्रतियोगीहरू सहभागी छन्। विजेताले नगद रु. ५१ हजारसहित क्राउन, ट्रफी, गिफ्ट ह्याम्पर, फ्रि क्रञ्च फिटनेस कार्ड र एक वर्षको जीवन बीमा प्राप्त गर्नेछिन्। फस्ट रनरअपले नगद रु. २५ हजार तथा सेकेन्ड रनरअपले रु. १५ हजारसहित उपहारहरू प्राप्त गर्नेछन्।

त्यसैगरी मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटी, मिसेस ब्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस बेस्ट वाक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, बेस्ट ड्रेस, मिसेस एक्टिभ र पिपुल्स च्वाइस शीर्षकमा पनि अवार्ड प्रदान गरिनेछ, जसअन्तर्गत ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिने वुमन्स वर्थ ग्रुपकी कोषाध्यक्ष रोजी ताम्राकारले जानकारी दिइन्।

मिसेस स्टेट २०२५, सिजन थ्री कोशी प्रदेशको ग्रान्ड फिनाले यही जेष्ठ १५ गते बिहीबार, धरान–१६ स्थित गुरुङ बीबीक्यू पार्टी प्यालेसमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!