सुनसरी : नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघको पहिलो राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ ।
नेपाली कांग्रेसको लोकतान्त्रिक आदिवासी जनजाति संगठन अन्तर्गत स्थापना गरिएको नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघ ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन जेठ २३ र २४ गते गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी दिएको हो ।
नेपाली कांग्रेसको सिद्धान्त “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” लाई आत्मसात गर्दै संघले २०७९ सालमा विधान निर्माण गरेको थियो ।
पार्टीको जातीय संगठनको मान्यता प्राप्त गर्दै संघले अहिलेसम्म पूर्वी नेपालका ९ जिल्ला र काठमाडौं उपत्यकामा गरी कुल १० वटा जिल्ला शाखा विस्तार गरिसकेको छ। संघले आगामी दिनमा लिम्बूहरुको बसोवास रहेका अन्य जिल्लामा पनि शाखा समिति गठन निर्माण गर्ने भएको सभापति उत्तम सिंह थाङदेनले बताए ।
संघको उद्देश्य लोकतान्त्रिक विचारमा आस्था राख्ने तर संगठन बिहीन र अन्योलमा रहेका लिम्बू समुदायलाई नेपाली कांग्रेसको मूल धारमा ल्याउने रहेको उनको भनाई छ। विशेषगरी ‘नो कोशी र नो केवलकार’ जस्ता समसामयिक आन्दोलनहरूलाई संवादमार्फत समाधान गर्न संघले अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
“नेपाली कांग्रेस जस्तो गौरवशाली पार्टीको मूल नारालाई आत्मसात गर्दै लिम्बू समुदायको हक, अधिकार र सहभागितालाई संस्थागत गर्दै लैजाने लक्ष्य रहेको सभापति थाङदेनको भनाई छ ।
धरान उपमहानगरपालिका–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने महाधिवेशनमा देशभरिबाट प्रतिनिधिहरूको सहभागिता रहनेछ। महाधिवेशनले संगठनको आगामी दिशा, कार्ययोजना र नेतृत्व चयनमा मार्गनिर्देश गर्ने अपेक्षा समेत गरिएको छ।
संघले आगामी २०८४ को आम निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग पुग्नेगरी जनताको हकहितको पक्षमा काम गर्ने लक्ष्य लिएको उनले बताए ।




