२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बारा, २० माघ । कलैया उपमहानगररपालिका–७ बैरिया टोलका ३२ वर्षीय रामकिशोर रामले यस वर्ष तीसवटाभन्दा बढी सरस्वतीको मूर्ति बिक्री गरे । एक महिनाको मिहिनेतले लाखौँ रुपियाँ कमाउने लक्ष्य उहाँको छ । ग्रामीण भेगका कालिगढले शहरी क्षेत्रमा आएर सिजन अनुसार सरस्वती, विश्वकर्मा, दुर्गा, गणेश लगायतका मूर्ति बनाएर राम्रो आम्दानी गर्छन् ।

विगत आठ वर्षदेखि रामले बिना गुरु आफैँले विभिन्न सिजनमा माटोको मूर्ति बनाएर आठ जनाको परिवार पाल्दै आएका छन् । यस्तै सोही ठाउँ वडा नम्बर–१ बस्ने सुरेन्द्रप्रसादले यसपाली ५० वटाभन्दा बढी सरस्वतीको मूर्ति बनाए ।  एउटा मूर्ति दुईदेखि तीन हजार रुपियाँसम्म विक्री हुन्छ ।

यसैगरी पर्सा धोबिनी गाउँपालिका–६ लंगडी टोल निवासी नरेश बैठाले वीरगंजमा यसवर्ष तीन जनाको समूहमा सामूहिक सयभन्दा बढी सरस्वतीको मूर्ति बनाएर थोरै मिहिनेतले तीन लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको बताए । कम्तिमा डेढ हजारदेखि २५ हजारसम्मको सरस्वतीको मूर्ति सरकारी स्कूल तथा निजी विद्यालयहरुका विद्यार्थीलाई बिक्री गर्ने सम्झौता दैनिक भइरहेको बैठाले बताए ।

सोही ठाउँ भिखमपुर निवासी कमलेश महतोले पनि रानीघाटमा ५० बढी सरस्वतीका मूर्ति बनाएका छन् । मूर्तिको आम्दानीबाट नै ५ जनाको परिवार पाल्दै २ छोरी तथा एक छोरालाई निजी विद्यालयमा पढाइरहेको महतोले बताए । सरस्वतीको मूर्ति बनाउने कार्यमा महतो, बैठा मात्र नभएर उनीहरु जस्तै कलैया, वीरगंज लगायतका ठाउँमा नेपाली तथा भारतीय कालिगढहरुले सिजन अनुसार मूर्ति बनाएर परिवार पालेर राम्रो आम्दानी गर्दै आएका छन् ।

यसरी प्रत्येक सिजनमा कलैया, वीरगंज, गौर लगायतका ठाउँमा सरस्वती, विश्वकर्मा, दुर्गा भवानी, गणेश लगायतका माटो तथा सिमेन्टका मूर्ति बनाएर स्थानीय (मूर्तिकार) कालीगढहरुले आम्दानी गर्ने गरेका छन् । कमाउनेले जसरी पनि थोरै लगानीमा मिहिनेत परिश्रम गरे विदेशभन्दा आफ्नै मुलुकमा हजारौ, लाखौ आम्दनी गर्न सकिने धेरै यस्ता उदाहरण भेटिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!