२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, १९ माघ । इलाम नगरपालिका–७ स्थित नमूना कलेक्सन अचार पसल । पसल मात्र नभएर यहाँ अनेक किसिमका अचार बन्छन् । अर्थात अचारको उद्योग नै यही छ । यसका उद्यमी हुन्, चूडामणि रिजाल र सारदा बाँस्कोटा (रिजाल), जोइपोइ । रिजाल दम्पतीको पसल नयाँ किसिमको होइन, नयाँ तरिकाले गरिएको हो ।

“सामान्य अचार जहाँ पनि पाइन्छ, तर मिश्रित अचारले मन तान्छ, जिब्रो रसाउँछ,” पसलमै भेटिएका चूडामणिले भने, “नयाँ भेराइटिजको बनाएको हो । धेरै थोक मिक्स गरेर बनाउँछाैँ ।” उहाँले थप्नुभयो, “धेरै दुःख गर्छाैं तर, बिकेकै छ ।”

अचारका पनि विभिन्न प्रकारका छन् । अरू त अरू । अकबरेकै पनि भिन्नभिन्न प्रकार । भिन्नभिन्न प्रकारको विभिन्न स्वाद । कुनै नुनमा हालेको, कुनै बाक्लो लेदोमा राखेको । कुनै मसला मिसाएको, कुनै तेलमा राखेको । यति मात्र कहाँ हो र । अचारभित्रै स्वादिष्ट जलपाइ, मललिडो, टिम्बुर (बोके-सिल), फिलुङ्गो सबै मिसाइएको पाइन्छ ।

गाउँघरमा फल्ने तर प्रयोग नहुने मेलदेखि फर्सीको बियाको अचार पाइन्छ यहाँ । यी सबै अचार बनाउन रिजाल दम्पती टाढा गएका होइनन् । घरमै सिके, घरमै बनाए । यसै सेरोफेरोमा चार वर्षअघि उद्योग खोले । नमूना कलेक्सन अचार उद्योग । शुरुमै केही केही भेराइटिज मात्र बनाइने अचार विस्तारै बढाउँदै लगियो । एक किसिमले गाउँको नगन्य खाद्यान्न सदुपयोगका लागि अचार बनाइएको हो । नयाँ स्वाद दिनका लागि रिजाल परिवारले धेरै थोक मिसाएर अचार बनाएका हुन् ।

औषधिमा प्रयोग हुने जडीबुटीलाई विशेष महत्व दिइन्छ । रिजालले भनेझैँ पसलमा लप्सी, कागती, किबीमा धेरै चीज मिसाएर नयाँ स्वादका अचार बनाइन्छ । चूडामणिले केही समयअघिसम्म कपडाको पसल गरे । कपडाबाट घाटा थिएन । छोरालाई ती पसल चलाउन दिएर उनले अचारको पसल थालेका हो । उद्योगमात्रै हुँदा खासै अचारको प्रवर्द्धन नहुने देखेपछि पसल खोलिएको हो ।

स्थानीय परिकारको प्रवर्द्धनमा लागेका दम्पती

इलामको अकबरे धेरैतिर चर्चित छ । अदुवा त्यस्तै । तर, अहिले पनि बोराका बोरा भारत बेच्दा नेपालमा बजार पाएको छैन । केही हिस्सा नेपालमा खपत हुन्छ तर, यसकोे बजार भारत हो । रिजाल दम्पतीले यही विषयलाई नजिकबाट बुझेर अचार बनाउन थालेका हुन् । कृषिजन्य उत्पादनको स्थानीयस्तरमा प्रवद्र्धन गर्नपर्छ भन्ने सोच छ उनीहरूमा । धेरै चीज सम्मिश्रण गरेर अचार बनाउन गाह्रो छ तर, गाह्रो नमानी काम गर्नुपर्ने हुन्छ ।

दैनिक परिवारकै खटाइ हुन्छ । व्यापारभन्दा उद्योगको काम असहज छ । उद्योगमा आएको वस्तुलाई मिलाएर मिश्रित गर्नुपर्छ । यसको बजार भने स्थानीयस्तर नै हो । इलाम बजार, फिक्कल अनि झापाका केही बजारमा यहाँको अचार पुग्छ । आफ्नै सामग्री चिनाउने काममा उनीहरू लागेका हुन् । चूडामणिले भने,  “हामी खेर जाने वस्तुलाई प्रयोग गरेर नयाँ टेष्ट दिन खोजेका हौं ।” विभिन्न सामग्री मिलाएर बनाएको अचारको दाममा खासै महँगो राखिएको छैन । लागत मूल्यभन्दा केही माथिकै दरमा दिइन्छ । उनका अनुसार पसलमा रु ३५ देखि एक हजारसम्मका अचार पाइन्छ । लसुनको अचार ४०० ग्रामलाई रु ३८० पर्छ । यस्तै टिमुरको ४०० ग्रामकै अचार रु ४४० पर्छ ।

चियासहित छुर्पीको प्रचार

पसलमा अचार मात्र होइन, चिया पनि पाइन्छ । चिया पनि विभिन्न प्रकारका पाइन्छ । ‘व्लाक टी’, ‘गोल्डेन टी’,‘पल ग्रीन’, ‘प्रिमियम ग्रीन’, ‘ब्रोकन टी’लगायत चिया यहाँ पाइन्छ । कुन किसिमको चिया हो, प्याकेटबाट चिनिन्छ । ‘ब्लाक टी’ कालो प्याकेटमा, ‘ग्रीन टी’ हरियो प्याकेटमा । छुर्पी पनि प्याकिङ गरेर बेचिन्छ । कमला उद्यमी मात्र होइन, अचारको तालीम सहजकर्ता पनि हो ।

इलामका विभिन्न क्षेत्रमा अचारको तालीमका लागि कमला जान्छिन् । परिवारबाहेक दुई व्यक्तिलाई रोजगारी दिइएको छ । भरिसक्के आफ्नो काम आफैँ गर्ने, नसक्दा मात्र कामदार लगाउने उद्देश्य रहेको कमलाले बताइन् । लुगा पसल र अचार पसलकै आम्दानीले इलाम सदरमुकाममा घर बनाएका छन् । अनि अन्तुमा रिर्सोट बन्ने क्रममा छ । चुडामणिले आफ्नो कामबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिइन् । विगतका कामबाट सिकेर नै नयाँ काममा लागेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!