देवानगञ्ज, २२ माघ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा बुधबार साँझ मोटरसाइकलले बालकलाई ठक्कर दिइ उल्टै बालक टिपेर भागेपछि स्थानीय रनभुल्लमा परे । स्थानीय राजीव कुशवाहाले दिएकाे जानकारी अनुसार देवानगञ्ज-२ का १२ वर्षीय प्रिन्स यादवलाई मोटरसाइकलले ठक्कर दिएकाे थियो । तर, मोटरसाइकलमा सवारहरुले उल्टै घाइते बालक टिपेर भागेपछि स्थानीय रनभुल्लमा परे ।
राजीवले यसरी सुनाए घटना :
म विराटनगरबाट फर्कँदैथिएँ । देवानगञ्ज-२ मा आइपुगेपछि त्यहाँ मानिसहरुकाे भीड देखेँ । बुझ्दा एक मोटरसाइकलले ठक्कर दिँदा स्थानीय प्रिन्स घाइते भएका रहेछन् ।स्थानीय जनार्दन यादवको छोरालाई सीमावर्ती सडकमा मोटरसाइकलले ठक्कर दिएकाे रहेछ । साँझ तीब्र गतिमा उत्तरबाट दक्षिणतर्फ गइरहेको सो मोटरसाइकलले बालकलाई बाटो काट्नेक्रमा ठक्कर दिएकाे रहेछ ।
र, मोटरसाइकलमा सवारहरुले उनलाई टिपरे भागेपछि स्थानीय र आफन्त इन्तु न चिन्तु भएका रहेछन् । उनीहरुलाई पछ्याउँदै गएकाहरुले पनि नभेटेपछि सबैजना निराश थिए । प्रहरीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
राजीवले दिएकाे जानकारीअनुसार हामीले पनि प्रहरीसँग सम्पर्क गरेका थियाैं । प्रहरीका अनुसार मोटरसाइकलमा सवारहरुले घाइते बालकलाई देवानगञ्ज बजारको एक क्लिनिकनजिकै लगेर छोडेर फरार भएका रहेछन् । घाइते बालकको देवानगञ्जको प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेका जनाइएकाे छ ।
कसैले पनि उनीहरुलाई नदेखेकाेले ठक्कर दिने मोटरसाइकल र चालककाे पहिचान गर्न कठिन भएकाे प्रहरीले जनाएकाे छ । नम्बर प्लेटसमेत कसैले नदेखेका कारण उनीहरुको पहिचानमा कठिनाइ भएकाे र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएकाे छ ।




