२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ६ फागुन । छिमेकी मुलुक भारत र चीनकाे तुलनामा नेपालकाे इन्टरनेट समग्रमा सस्ताे देखिएकाे छ । विश्वव्यापी इन्टरनेट पुहँचको विषयमा सार्वजनिक भएकाे नयाँ प्रतिवेदनअनुसार भारत र चीनमा भन्दा नेपालमा इन्टरनेट सस्तो देखिएको हो ।

हालै बेलायती अनुसन्धान संस्था ब्रोडब्याण्ड च्वाइसले १६९ देशको ब्रोडब्याण्ड तथा मोबाइल पूर्वाधारका आधारमा इन्टरनेट एक्सेसिबिलिटी इन्डेक्स–२०२१ सार्वजनिक गरेको हाे । प्रतिवेदनले विभिन्न मापण्डका आधारमा उक्त अध्ययन गरेको हाे । जसमा फिक्स्ड ब्रोडब्याण्डको गति, होम इन्टरनेट प्याकेजको मूल्य, मोबाइल डेटा (प्रति जीबी), इन्टरनेट पुहँचमा रहेको देशको जनसंख्या समेटिएको थियो ।

यसका साथै मोबाइल इन्टरनेट, कभरेज, सार्वजनिक रुपमा उपलब्ध वाईफाई हटस्पटको संख्या र आफ्नै भाषमा सञ्चालनमा रहेका वेब पेजको हिस्सालाई आधार मानी प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार इन्डेक्समा सबैभन्दा अघि डेनमार्क रहेको छ । एउटा मात्रै इन्टरनेट सेवा प्रदायकको आधिपत्य रहेको डेनमार्कमा इन्टरनेट सस्तो हुनुका साथै गुणस्तरीय र द्रुत गतिको समेत रहेको उल्लेख छ ।

सो प्रतिवेदनअनुसार एक्सेसिबिलिटी इन्डेक्समा नेपाल ६५.४ अंक प्राप्त गर्दै १३२ औं स्थानमा रहेको छ । यस्तै सस्ताे इन्टरनेट हुने देशकाे सूचीमा नेपाल १३औं स्थानमा छ । नेपालमा इन्टरनेट सेवाकाे न्यूनतम मासिक शुल्क औषतमा १३.८ डलर अर्थात १६ सय रुपैयाँको हाराहारीमा रहेको साे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार सबैभन्दा सस्ताे इन्टरनेट हुने देश युक्रेन हाे । त्यहाँ प्रति महिना इन्टरनेटकाे मूल्य औषतमा ७ डलर मात्रै रहेकाे छ । भारतमा प्रतिमहिना इन्टरनेटकाे मूल्य १४.६ डलर छ भने चीनमा २४ डलर रहेको छ । भारत र चीन एक्सेसिबिलिटी इन्डेक्समा क्रमश: १०८ र ११४ स्थानमा रहेका छन् ।

समग्र मासिक शुल्कमा सस्ताे भएपनि माेबाइल डेटामा भने नेपाल ६२ औं स्थानमा छ । जबकि भारत माेबाइल डेटामा विश्वकै सबैभन्दा सस्ताे देशमा परेकाे छ । त्यहाँ एक जीबी डेटाकाे मूल्य औषतमा ०.४ डलर मात्रै रहेकाे छ । चीन र नेपालमा भने एक जीबी डेटाकाे मूल्य समान ३/३ डलर रहेकाे छ । याे तथ्यांक देशकाे इन्टरनेट पुहँच र जनसंख्यालाई आधार मानेर निकालिएकाे बताइएकाे छ ।

तथ्यांक इन्फोग्रामबाट

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!