काठमाडौँ, १७ फागुन । दूध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यु जापान निर्यातमा वृद्धि भएको छ । चालू आर्थिक वर्षदेखि डीडीसीले आफ्नो घ्यु जापान निर्यात गर्न थालेको हो । डीडीसीका बजार प्रबन्धक सञ्जीव झाका अनुसार हालसम्म औपचारिक रूपमा ३१ हजार लिटर घिउ जापान पठाइसकेको छ भने अनौपचारिक रूपमा पनि ३० हजार लिटरभन्दा बढी घिउ जापान पुगेको छ ।
अर्थात् यो आर्थिक वर्षको हालसम्म डीडीसीका ६१ हजार लिटर घिउ जापानको बजारमा पुगेको छ । डीडीसीले नेपालकै एक व्यापारीसँग सम्झौता गरी घिउ जापान पठाइरहेको छ । त्यसबाहेक अन्य व्यापारीले पनि डीडीसीबाट जापानकै लागि भनेर खरिद गरी पठाइरहेको छ ।
जापानबाट डीडीसी घिउको माग अत्याधिक भइरहेको बताउँदै प्रबन्धक झाले मागअनुसार आफूहरू पठाउन सफल भइरहेको बताए । उनले डीडीसीमा घिउको अभाव छैन, हाल पाँच सय मेट्रिक टन बटर भण्डारमा रहेका कारण घिउको अभाव हुन दिने बरु बढी नै भएको छ त्यसलाई कसरी खपत गर्ने चिन्ता भइरहेको बताए ।
कोभिड–१९ का कारण चाहिएको जति दूध बिक्री नभएका कारण त्यसलाई बटर बनाएर भण्डारण गर्ने गरिएको हुनाले घिउको अभाव नहुने उनले बताए । डीडीसीको घिउ अन्य बजारमा पनि गइरहेका छन् तर अरू व्यापारीले सीधै किनेर पठाउने गरेको हुनाले त्यसको लागत आफूहरूसँग नरहेको उनले बताए ।




