२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ फागुन । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन् । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन् ।

गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन् ।

उक्त टोलीमा गाउँपालिका अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरू कपुरलाल माझी, जग्गुलाल कामतसहित लेखा शाखाका कर्मचारी, प्राविधिक सहभागी छन् । गाउँपालिका उपाध्यक्ष मन्जिताकुमारी सरदारले यो भ्रमणको विरोध आफूले गरेको बताइन् । ‘गर्नु नहुने काम गरिरहेका छन्’, उपाध्यक्ष सरदारले भनिन्, ‘पहिले मैले सचेत गराउँदा मानेनन् ।’

उपाध्यक्ष सरदारका अनुसार जनप्रतिनिधि र कर्मचारी अन्य प्रदेशका स्थानीय तहको अध्ययन भ्रमण भन्दै गएका हुन् । ‘अन्य प्रदेशका स्थानीय तहसँग अनुभवबारे अन्तरक्रिया गर्ने उद्देश्यले भएको भ्रमण नराम्रो होइन तर खर्च गर्ने प्रक्रिया गतल नै हो’, सरदारले भनिन् । जनप्रतिनिधि र कर्मचारीबाहेक अरू पनि भ्रमणमा सहभागी हुने भएपछि आफूले यात्राको एक दिनअघि मात्र रद्द गरेको उनले सुनाइन् ।

जनप्रतिनिधि र कर्मचारीको वृत्ति विकासका लागि भ्रमण स्वाभाविक भए पनि भ्रमण सूचीमा नभएका व्यक्ति सहभागी हुने जानकारी पाएपछि भ्रमण स्थगन गरेको उनको भनाइ छ । भ्रमणमा कतिपय जनप्रतिनिधि र कर्मचारीले परिवारका सदस्यलाई पनि लगेको जनाइएको छ । अन्नपूर्णपोस्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!