ताप्लेजुङ, १८ फागुन । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भएको छ । मंगलबार बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए ।
दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको उनले बताए । उनले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दैछौं।’
ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए।
उनले भने, ‘म पनि आगलागी क्षेत्रमा जाँदै छु। आगलागी भीषण छ भन्ने खबर आएको छ ।’ सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको कार्कीले बताए ।




