विराटनगर, २६ फागुन । मोरङको विराटनगरबाट मानव बेचविखनको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र विराटनगर-१६ दक्षिण बस्ने प्रेमबहादुर मगर रहेका छन् ।
फागुन २१ गते उनीहरूले होटलमा काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी सिन्धुपाल्चोको गाउँबाट काठमाण्डौ हुँदै २ जना महिलालाई विराटनगरमा बोएका थिए ।
रोजगारी दिलाइ दिने बाहनामा भारतमा लगी वेचबिखन गर्ने उद्देश्यले विराटनगर १६ दक्षिण गेटमा ल्याएको ती महिलाहरूले इलाका प्रहरी कार्यालय रानीमा जाहेरी दरखास्त दिएका थिए ।
निवेदनपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले २१ गते नै पक्राउ गरेकाे थियो । विराटनगर-१६ दक्षिण गेटबाटै उनीहरू पक्राउ परेका हुन् । बुधबार विज्ञप्ती जारी गर्दै उनीहरूलाइ प्रहरीले सार्वजनिक गरेकाे छ । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।




