२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ फागुन । हुलास मोटर्सले अघिल्लो वर्ष २०२० मै ‘हुलास विद्युत’ नामक कार बजारमा ल्याउने जनाएको थियो । तर विद्युतीय कारको काम अगाडि बढ्न सकेको छैन । २०२० मा ग्राहकलाई बिक्री गर्ने लक्ष्यसहित उत्पादनमा जुटेको भएपनि उक्त कार बजारमा आउन सकेन ।

विराटनगरस्थित हुलास मोटर्सको प्लान्टमा विद्युतीय कारको लागि आवश्यक काम भइरहेको छ । तर त्यहाँबाट गाडी उत्पादनको काम सुरु गर्न नसकिएको कम्पनी जनरल म्यानेजर प्रफुल्लदासले जानकारी दिए । उनका अनुसार कोरोना महामारीअगाडि स्थानीयस्तरमा परीक्षण गर्न सकिन्छ भनेर कम्पनीले काम सुरु गरेको थियो तर चीनबाट ल्याउनुपर्ने केही पार्ट्सहरु ल्याउन नसकिएका कारण सबै काम ठप्प भएको हो ।

बिक्री गर्ने सपना पूरा हुन नसकेपनि २०२१ मा ग्राहकले नेपालमा बनेको विद्युतीय कार चढ्न पाउने उनकाे भनाइ छ । अहिले कम मूल्यको र मिड रेञ्जको मूल्यमा दुई भेरियन्ट ल्याउनेगरि आफूहरुले काम गरिरहेको उनले बताए ।

कम्पनीले निकै सुन्दर ह्याचव्याक र चलाउन असाध्यै सजिलो हुने कार ल्याउने योजना बनाएकाे छ, जसको उच्चगति क्षमता ६५ किलोमिटर प्रतिघन्टा हुने छ । यसलाई विशेषत सहरी क्षेत्रमा दैनिक कार्य गर्ने ग्राहक लक्षित गरेर ल्याउने योजना कम्पनीको छ ।

कारमा दिइएको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिनेगरी व्याट्री निर्माण भइरहेको छ । उक्त व्याट्रीलाई घरको सामान्य प्लगमा जोडर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ ।

कारमा अन्य थुप्रै आधुनिक फिचर दिइने छ । पावर स्टेरिङ्ग, पावर ब्रेकिङ सिस्टम, पावर विण्डो तथा सेन्ट्रल लकिङ्ग सिस्टम, रियर भ्यू क्यामरा र रियस सेन्सर ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम यसमा ग्राहकले पाउने छन् । यो कार २० डिग्रीको उकालोमा सजिलै चढ्न सक्ने छ । नेपालको बाटोको अवस्थालाई मध्यनजर राख्दै तयार गरिएको यो कारमा १ सय ८० एमएमको ग्राउण्ड क्लियरेन्स दिइने छ । पाँच जना यात्रुको लागि बस्ने सीट यसमा उपलब्ध रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!