विराटनगर, १ चैत । उद्योग संगठन मोरङको अध्यक्षमा सुयश प्याकुरेल निर्वाचित भएका छन् । शनिबार राति भएको ४८ औं साधारणसभाबाट प्याकुरेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उनी संगठनको वरिष्ठ उपाध्यक्ष थिए ।
वरिष्ठ उपाध्यक्ष पदमा भने निर्वाचन भएको थियो जसमा प्रदीपकुमार मुरारका निर्वाचित भए । राकेश सुराना र मुरारकाबीच भएकाे निर्वाचनमा मुरारका विजयी भएका हुन् ।
वरिष्ठ उपाध्यक्षबाहेक अरू सबै पदमा आवश्यक संख्यामा उमेदवारी दर्ता भएका कारण निर्विरोध भएको थियो ।
साधारणसभाबाट तीन जना उपाध्यक्षहरु भोलेश्वर दुलाल, राजकुमार गोल्छा र नन्दकिशोर राठी निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा विपिन कावरा निर्वाचित हुँदा सुनिलकुमार धनावत, पारस लुनिया, इन्द्र खत्री, सुवोध कोइराला, शौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे सदस्य पदमा निर्वाचित भए ।




