२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । बैकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताए ।

नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, ‘चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदै छ, नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाइसकेका छौँ ।’

उनले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरी बोन्ड जारी हुने पनि उनले जानकारी दिए । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए ।

उनले निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको बताए । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे ।

उनले भने, “यो दीर्घकालीन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैङ्क हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौँ ।” अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए ।

निफ्राले बैङ्क तथा वित्तीय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैङ्कहरूले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुने गरी बोन्ड तयार गरिएको छ ।

त्यस्तै, इन्स्योरेन्स बोन्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरूले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ । विशेष गरी जीवन बिमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्द्रित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!