२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ चैत । सुनसरीको देवानगञ्जमा बृहत्त पोषणसम्बन्धी तालिम सम्पन्न भएको छ । गत ३ चैतबाट ९ चैत सोमबारसम्म गाउँपालिकाभरिका १७ स्वास्थ्यकर्मीलाई पोषणसम्बन्धी तालिम दिइएको थियो ।

देवानगञ्ज गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सात दिने तालिम आज समापन भएको हो । कप्तानञ्ज स्वास्थ्यचौकीमा आयोजित सो तालिममा स्वास्थ्यकर्मीलाई कुपोषणको जोखिम न्यूनीकरणका लागि स्वास्थ्यकर्मीको कदमबारे जानकारी दिइएको थियो ।

तालिमको सहजीकरण देवानगञ्ज गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक उमेशप्रसाद मेहता, सहसंयोजक सुरेन्द्रप्रसाद साह र भोक्राहानरसिंह गाउँपालिकाका जनस्वास्थ्य अधिकृत रमेश साहले गरेका थिए ।

तालिमपश्चात स्वास्थ्यकर्मीहरुले आ–आफ्नै स्वास्थ्यचौकीहरुमा पाँच वर्षमुनिका बालबालिकाहरुको तौल नाप्ने, उचाइ नाप्ने र कुपोषणसम्बन्धी तथ्यांक निकाल्ने देवानगञ्ज गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मेहताले जानकारी दिए ।

देवानगञ्ज गाउँपालिकामा देशका अन्य स्थानीय तहको तुलनामा कुपोषण हुने बच्चाकोे सङ्ख्या निकै कम रहेको उनको दाबी छ । तथापि, यकिन तथ्याङ्क आइनसकेको उनले बताए ।

कुपोषणमुक्त वडा घोषणा गर्ने तयारी

उनले देवानगञ्जको एउटा वडालाई कुपोषणमुक्त घोषणा गर्ने तयारी पनि भइरहेको जानकारी दिए । ‘अहिले नै यकिन भइसकेको छैन तर एउटा कुनै संस्थामार्फत् बच्चाको कुपोषण जाँच गरेर एउटा वडालाई कुपोषणमुक्त वडा घोषणा गर्नेछौँ । यसका लागि गाउँपालिकाले बजेट बिनियोजन गरिसकेको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!