काठमाडाैँ, ९ चैत । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले साना किसानको संरक्षण गर्ने गरी कृषिमा वैदेशिक लगानी (एफडिआई) आवश्यक रहेको बताएकी छन् ।
साेमबार खाद्यका लागि कृषि अभियानले ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा मन्त्री अर्यालले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र विदेशी लगानी आकर्षित गर्न आवश्यक रहेको बताएकी हुन् ।
वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा चिन्ता चासो व्यक्त गर्नु स्वाभाविक कुरा भएको भन्दै उनले धेरै आशङ्का गरेर विकासका कामहरु रोक्ने कुरा राम्रो नहुने बताइन् ।
उनले भनिन्, “हाम्रो सामथ्र्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याएर जानुपर्छ । तर हामीलाई नोक्सान नहुने र हाम्रा किसानलाई पनि प्रोत्साहन हुने गरी जानुपर्छ । वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा हो तर धेरै आशङ्का गरेर विकास कामहरु रोक्ने कुरा राम्रो होइन ।”
सरकारले साना किसानलाई मार्ने गरी विदेशी लगानी भित्र्याएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालको भनाइ थियो ।




