२०८२ फाल्गुन २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १० चैत । विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार ‘अमित राजा’ भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन् । दस वर्षअघि भारतको नयाँदिल्ली चार्टर्ड एकाउन्टेन्ट पढ्न गएका युवा अमितले पढाइभन्दा कलाकारितामा रुचि बढाउन थालेका थिए । लगातारको मेहनतबाट उनी भारतको चलचित्रमा देखिन थालेका छन् ।

१६ वर्षकै उमेरमा मोडलिङमा लागेका अमित हाल साउथ इन्डियन चलचित्रको नायक बन्न सफल भएका छन् । उनले तमिल प्रख्यात सिरियल ‘रोजा’मा अभिनय गरेका छन् ।

आफूले इन्टरनेटमा प्रसारण हुने हिन्दी वेव सिरिज ‘ए दिल है मुस्किल’, दक्षिण भारतीय कन्नड भाषाको ‘रामाचारी टु पेन जिरो’ (रामायण कथामा आधारित), हिन्दी चलचित्र मितेज, अर्को नाम घोषणा नभएको हिन्दी चलचित्र, हिन्दी भाषाको वेभ सिरिजलगायतमा अभिनय गरिसकेको अमितले जानकारी दिए ।

उनले भने,“कला र कलाकारिताको क्षेत्रमा मुम्बईजस्तो ठाउँमा सङ्घर्ष गर्नु सामान्य होइन, एकसेएक कलाकार छन् आफूलाई टिकाइराख्न अझ बढी मेहनत र परिश्रम गर्नुपर्छ ।”

यसैगरी अमितले अभिनय गरेको ‘तेरा लव मेरा इश्क’ गीतको भिडियो भारतको प्रसिद्ध सङ्गीत कम्पनी टि सिरिजले चाँडै सार्वजनिक गर्न लागेको छ । रौनियारले सन् २०१३ मा मिस्टर एण्ड मिस दिल्लीमा बेस्ट फिजिक्स, सन् २०१७ मा मिस्टर उत्तराखण्डमा दोस्रो उपाधि हासिल गरेका थिए ।

भक्तपुरमा गएको फागुन १४ गते सम्पन्न इन्टरनेशनल फेसन शो बेस्ट मेल मोडलको उपाधिसमेत ग्रहण गरेका अमितलाई विराटनगर आउँदा उनका शुभचिन्तकहरुले भव्य स्वागत गरेका थिए । उनले भारतमा अभिनयको क्षेत्रमा काम गर्दा भारतीय अभिनेताहरुबाट राम्रो सहयोग पाएको प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!