सुनसरी, १२ चैत । नक्कली सुनका सिक्का दिएर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उप-महानगरपालिका-९ का २० वर्षीय फैजान आलम र इनरुवा नगरपालिका-१० का ४१ वर्षीय जल्लाउदिन मियाँ रहेका छन् ।
दुवै जना इटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा पक्राउ परेका हुन् ।
उनीहरुले ठकुरीलाई विभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेका थिए । रकम लगेपछि सम्पर्कबिहीन भएसंगै आफू ठगिएको थाहा पाई ठकुरीले ईलाका प्रहरी कार्यालय ईटहरीमा जानकारी गराएका थिए ।
ठगी भएको सूचना पाए संगै ठगी गर्ने ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।




