अजय मण्डल
बर्जु, १३ चैत । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा बिहीबार साँझ आगलागी भयो । स्थानीयवासी प्रभु ऋषिदेवको घरमा रहेको विद्युतीय मिटरबाट लाइन चुहिएर आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुमान छ ।

आगलागीमा परेर स्थानीयवासी प्रभु ऋषिदेव, चोकी ऋषिदेव, विजय ऋषिदेव, सञ्जय ऋषिदेव, बाबुराम ऋषिदेव, लक्ष्मण ऋषिदेव र लवदिया ऋषिदेव गरेर सात परिवारको ११ घर जलेर पूर्णरूपले नष्ट भएको थियो । आगलागीमा स्थानीयवासीको घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा फर्निचरका सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको हो ।
सदा समुदायको बसोबास रहेको बस्तीमा आगोले सबै थोक खरानी बनाइदिएपछि वडा कार्यालयले उनीहरुलाइ राहत सामग्री उपलब्ध गराएको छ । बर्जु गाउँपालिका वडा नं ६ का अध्यक्ष विनोद चौधरी नेतृत्वको टोलीले शुक्रबार उनीहरुलाइ राहत सामग्री वितरण गरेको हो ।
ऋषिदेब घरपरिवारहरूको लागि भाँडाकुँडासहित किराना सामानहरू उपलब्ध गराएको थियो ।

हरेक पीडित घरपरिवारलाई किराना सामानहरू २५ केजी चामल, ५ केजी चिउरा, ५ केजी भुजा, ५ केजी दाल, २ लिटर खाने तेल, सोयाबिन १ केजी, खाना पकाउने भाँडो १ थान, कराई १ थान, बाल्टिन १ थान, थाल ३ थान, रमपम चाउचाउ १ कार्टुन, नुन १ केजी, डाडु १ थान, ब्ल्यान्केट १ थान, तनना १ थान, पुनिउँ १ थान, तोलिया २ थान, काेलगेट १ वटा , ब्रश ३ वटा, बिस्कुट १० वटा, साबुन १ वटा, जग १ थान वितरण गरिएको थियो ।





