विराटनगर, १६ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज पनि परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
आइतबार अर्थात् हिजो हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइएको थियो । आज तराईमा पनि हर्सोल्लासका साथ मनाइने छ ।
विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले महामारीको त्रासबीच परिवार र साथीभाइबीच होली मनाउन अनुरोध गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना सङ्क्रमण बढ्दो अवस्थामा भएका कारण सुरक्षित रहेर होली मनाउन आग्रह गरेका छन् । होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन भिडभाड नगर्न र कार्यक्रमको आयोजना नगरी घरमै सीमित भएर होली मनाउन उनको आग्रह छ ।
‘होली नै मनाउन रोक लगाउन सकिँदैन । सामाजिक सद्भावको चाड भएका कारण होली खेल्न प्रतिबन्ध लगाउन सकिँदैन । तर सुरक्षित भएर होली खेल्नुपर्छ । तर कार्यक्रम नगर्न र भिडभाड नगरी घरमै सीमित भएर होली खेलिदिन हाम्रो अनुरोध छ’, उनले ग्रामीण खबरसँगको कुराकानीमा भने ।
‘विभिन्न किसिमका मेला तथा जात्रा गराउन रोक लगाइएको छ । कलाकार बोलाएर, मञ्ज बनाएर भिडभाड गर्ने कुरामा पनि रोक छ’, उनले थपे ।




