विराटनगर, १६ चैत । तराईका जिल्लाहरुमा मंगलबार हर्षोल्लोसका साथ रंग अविर लगाएर होली पर्व मनाइएको छ । होली पर्वका अवसरमा गए राति ग्रामीण भेगका होली मण्डलीहरुले होरी, फगुवा, जोगिडा बिरहा गाएर होलीका दहन गरेका छन् । यसैगरी शान्ति, सद्भाव एवम् भाइचाराको सम्वन्ध विस्तार गर्ने यो पर्व मनाएका छन् ।
विराटनगरका विभिन्न चोकहरुमा युवाहरुको समूहले रमाईलो गर्दै एक आपसमा रंग अविर दलेर होली पर्व मनाएका छन् ।
यसैगरी सामान्यता हिन्दूहरुले मनाउँदै आएको होली पर्व यस वर्ष शान्ति, सद्भाव र एकताको सन्देश दिँदै मनाएका छन् । होली पर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न विभिन्न जालझेल र षड्यन्त्र गरेका कथासँग जोडिएका छन् ।
हिरण्यकशिपुले आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवानको नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको कथा पर्व परम्परासँग जोडिएको छ।
यो प्रसङ्ग श्रीमद्भागवत महापुराणमा पनि वर्णित छ। यसै कथा प्रसङ्गबाट नै राक्षसी प्रवृत्ति नास भएको खुशीयालीमा यस पर्व परम्परा सुरु भएको हो । यसै सन्दर्भलाई मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यस पर्वको महत्व बढाएका मैथिल बुद्धिजीवी बताउँछन् ।




