अजय मण्डल
इनरुवा, १७ चैत । सुनसरीको इनरुवा नगरपालिकाको पहिचान झल्काउने इनारको प्रतीक बनाएर उद्घाटन गरिएको छ । मङ्गलवार इनरुवा नगरपालिका-१ को लोकतान्त्रिक चौकमा इनरुवाको पहिचान झल्किने किसिम इनारको प्रतीक निर्माण गरी उद्घाटन गरिएको हो ।
इनार पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेकोले त्यसको संरक्षण र पहिचान समेत स्थापित हुने गरी इनरुवाको प्रतीक इनार निर्माण गरी इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले उद्घाटन गरे । पाँच दशक अघिसम्म खानेपानीको लागि स्थानीयहरूले निर्माण गरिएको इनार र कुवाले भरिएको अनि इनारै इनार भएको क्षेत्रको रुपमा इनरुवाको नामाकरण समेत भएको ठहर गर्दै इनरुवाको पहिचान बोकेको इनार निर्माण गरिएको हो ।

मेहताले इनरुवाको प्रतीक इनार मात्र नभई घण्टाघर, शिव मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर लगायतका विभिन्न वडाका पहिचान झल्किने तस्बिरहरू समेत निर्माणको चरणमा रहेको बताए ।
उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिताराम मेहता, नागरिक समाजका पुरुषोत्तम घिमिरे, इनरुवा नगरपालिका वार्ड नं. १ का वडाध्यक्ष रामचन्द्र पौद्धार, इनरुवा नापा ५ का वडाध्यक्ष अन्जनी पोखरेल, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र साह लगायतका उपस्थिति रहेको थियो । उद्घाटन समारोह इनरुवाको प्रतीक निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिनन्द यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।




