विराटनगर, १८ चैत । नेपालमा रोजगारी र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्धेश्यसहित विराटनगरमा पनि ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको सुरुवात गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले यसको शुभारम्भ गरेका हुन् ।
डिजिटल प्लाटफर्मको माध्यमबाट सबै ब्यावसायिक कामलाई सहजबनाउने उद्धेश्यले सञ्चालनमा आएको रोलिङ नेक्सस अनलाइनमा आधारित व्यवसायिक सामाजिक सञ्जाल हो, जसको नै “नयाँ सम्भावनाहरुको सञ्जाल” रहेको छ ।

नेपालकै पहिलो ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस आम मानिसको दैनिक जीवनमा उपयोगि बन्ने विश्वास मुख्यमन्त्री राईले गरेका थिए । यस्तै विराटनगर महानगरकापालिकाका मेयर भीम पराजुलीले अनलाइनमा आधारित यो ब्यावसायिक सामाजिक सञ्जालले लाखौं उत्पादनशील जनसंख्यालाई थप ऊर्जाशील बनाउने विश्वास ब्यक्त गरे ।
यसलाई मुख्यतयः चार सिद्धान्तमा संचालन गरिएको रोलिङ नेक्ससका अध्यक्ष अनुपजंगमले बताए । रोजगारी, उद्यमशिलता, सशक्तिकरण र संलग्नताको सिद्धान्तअनुरुप यो सञ्चालन हुनेछ । यीबाहेक अन्य दुई एप्लिकेसन रोलिङ कर्मशील स्वदेश र रोलिङ कर्मशिल विदेशबाट स्वदेशी तथा वैदेशिक रोजगारीका बारेमा जानकारी लिंदै नयां अवसरहरु खोज्न सकिनेछ ।
प्रमुख अतिथि रहेका मुख्यमन्त्री विशिष्ट अतिथि पराजुलीभन्दा अगाडि बोले
प्रमुख अतिथि रहेका मुख्यमन्त्री विशिष्ट अतिथि पराजुलीभन्दा अगाडि बोलेपछि कार्यक्रममा टीका–टिप्पणी भएको थियो । कार्यक्रममा उपस्थित धेरैले विशिष्ट अतिथिभन्दा अगाडि प्रमुख अतिथि बोलेपछि कार्यक्रम मर्यादाक्रमविपरीत भएको भन्दै प्रतिक्रिया दिएका थिए ।
अझ, आफ्नो सम्बोधन राखिसकेपछि मुख्यमन्त्री राई कार्यक्रम छोडेर हिँडेका थिए । यसबाट कार्यक्रममा उपस्थित धेरैले कार्यक्रममा शैलीका कारण मुख्यमन्त्री राई असहज मान्दै कार्यक्रमबाट हिँडेको आँकलन गरेका थिए ।

यता, कम्पनीका चिफ अपरेटिङ अफिसर ज्ञानराज पन्थी भने मुख्यमन्त्री राईकै कार्यतालिकाअनुसार कार्यक्रमको सेडुअल मिलाएको बताउँछन् । ‘मुख्यमन्त्रीज्यूले नै आफ्नो समय नरहेको भन्दै अगाडि नै दुई शब्द राख्छु भन्नु भएको थियो । यसैले कार्यक्रम त्यहीँअनुरुपको भएको हो । धेरैले यसबाट मुख्यमन्त्री रिसाएको भन्ठानेछन् । तर त्यस्तो होइन’, ग्रामिणखबर डटकमसँगको कुराकानीमा उनले भने ।
के हो रोलिङ नेक्सस डटकम ?
रोलिङ नेक्सस नेपालकै पहिलो ब्यावसायिक सामाजिक सञ्जाल हो । ब्यक्तिहरुको दक्षता अभिवृद्धि, रोजगारी सृजना तथा प्रवद्र्धन, पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणमा रहेर अवसर तथा सम्भावनाहरुको खोजी र गीग इकोनोमीको अवधारणामा रहेर उद्यमशीलता प्रर्वद्धन तथा ब्यावसायिक वृद्धी गर्नु यसको मुख्य उद्धेश्य हो ।
रोलिङ नेक्ससले ब्यावसायिक सेवा दिन विभिन्न ७ वटा समुहहरु छुट्याएको छ । जब, टेण्डर, फ्रिलान्स, कम्प्युटर एडप्टिभ टेष्ट, इभेन्ट, बजार र छलफलजस्ता प्लाटफर्मको प्रयोग गरि विभिन्न सेवा लिन सकिने सञ्चालक अनुप जंगमले बताएका छन् ।
रोलिङ बजारमार्फत नेपाली घरेलु उद्यमीलाई प्रर्वद्धन गर्ने योजना रोलिङ नेक्ससको छ । यस्तै, रोलिङ उजुरीमार्फत उपभोक्ताले आफ्ना अप्ठारो अथवा ठगीको गुनासो औपचारिक रुपमा राख्न मिल्ने र सोको समाधानका लागि सम्बन्धित कम्पनीबाट जवाफ मागी समाधान गर्ने व्यवस्था समेत गरिएको छ । खेलप्रेमी युवा पुस्तालाई आकर्षित गर्न रोलिङ कन्टेस्टमार्फत खेलकुदको गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक हाजिरी जवाफजस्ता मनोरञ्जनका सामाग्री पनि यसमा समावेश गरिएको छ ।
मुलुकमा रोजगारी र उद्यमशीलताका अवसर उत्साहजनक नरहेको अहिलेको अवस्थामा नयां सम्भावना र अवसरहरुलाई एउटै प्लाटफर्ममा समेट्ने उद्धेश्यले रोलिङ नेक्ससको शुरुवात गरिएको हो । यस्तोमा सिप नभएका वा सीप भएर पनि मौका नपाएका लाखौं मानिसहरुलाई रोलिङ नेक्ससको सञ्जाल उपयोगि हुनेमा कम्पनीको विश्वास छ ।
१८ वर्षदेखि ६५ वर्षका उमेर समुहमा पर्ने करिव दुई करोड नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एउटा पूर्ण ब्यावसायिक सामाजिक सञ्जालको प्लाटफर्म दिन र कुनै न कुनै कार्यमा रोलिङ नेक्ससमार्फत अवसर, उत्पादनशिलता र रचनात्मक कार्यमा सहभागिता गराउंदै ब्यक्तिगत ग्राहक र ब्यावसायिक ग्राहकरुलाई सेवा दिन प्रतिवद्ध रहेको जंगमले बताए ।
यो व्यावसायिक सामाजिक सञ्जालको प्लाटफर्म प्रयोग गर्न ब्यक्तिले र व्यवसायले मोबाइलमा एप डाउनलोड गरि त्यसमा लगईन गरि आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । एकपटक प्रोफाइल तयार गरिसकेपछि खोजे अनुसारको सेवा प्राप्त गर्न सहज हुनेछ ।
रोलिङ नेक्ससले ब्यक्ति–व्यक्ति, व्यक्ति–ब्यावसाय वा व्यवसाय–व्यवसायको नेटवर्कमार्फत एक आपसको सम्पर्कमा रही जुटेर एक अर्काका लागि नै सम्भावना सृजना गर्न बिकसित गरिएको हो । त्यसैले बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुको ब्यावसायिक दैनिकी सहज बनाउन रोलिङ नेक्सस उपयोगि बन्दै गइरहेको छ ।




