२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

विराटनगर / सुनसरीको बर्जु गाउँपालिकामा शुक्रबार (भोलि)देखि दोस्रो बर्जु महोत्सव आयोजना हुने भएको छ । बर्जु सामुदायिक विकास केन्द्रको आयोजनामा बर्जु गाउँपालिका वडा नं ६ स्थित रहेको बर्जु तालमा भोलिदेखि दोस्रो बर्जु महोत्सव हुन लागेको हो ।

नयाँ वर्ष अर्थात् १ वैशाख २०७८ मा समापन हुनेगरी बर्जु महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । विराटनगरको बरगाछी चोकदेखि करिब ९ किमी पश्चिममा पर्ने चिमडी बर्जु ताललाई पर्यटकहरुमाझ चिनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

चिमडी बस्तीमा १ सय ५२ बिघामा फैलिएको यो ताल क्षेत्र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । तर पनि प्रशस्त प्रचार–प्रसारको अभावले उक्त क्षेत्र चिनिन सकेको छैन । बर्जु ताल छेउमा सुरु हुने महोत्सवमा विभिन्न स्टल र रमाइलो मेलासँगै कुस्तीका प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।

कुस्तीमा नेपाली र भारतीय पहलवानहरु भिड्नेछन् । यस्तै महोत्सवमा राष्ट्रिय कलाकार श्रीकृष्ण लुइँटेल (बोके दारी), गायिका ज्योति मगर, रजिन्द्र चौधरी, प्रेम गन्गाई, निकिता मण्डल(थारु), मेनुका माझी, पिंकी राजवंशी, उषा बि.सी, आशा बि.सी, ममता चौधरीलगायतले प्रस्तुती दिनेछन् ।

कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रत्येक दिन महोत्सवमा आउने दर्शकलाई निःशुल्क मास्क वितरण गर्ने, सेनिटाइजेसन गर्ने र हेल्पडेस्क राख्ने आयोजक कमिटीका अध्यक्ष श्रवणकुमार चाैधरीले जनाए । उनका अनुसार महोत्सवको तयारी लगभग पूरा भइसकेकाे छ ।

यस्तै सचिव सरोज चौधरीले कुस्तीले दर्शकको उपस्थिति बढ्ने कुरामा आफूहरू आशावादी रहेको पनि बताए । महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रका उपाध्यक्षसमेत रहेका चौधरीका अनुसार अघिल्लो पटकको महोत्सवमा पनि कुस्ती आयोजना गरिएको थियो ।

यता, गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले महोत्सव पूर्ण रूपमा बर्जु तालको प्रचारप्रसारलाई लक्षित गरी आयोजना हुन लागेकाे बताए । तालमा पाइने विभिन्न प्रजातिका चरा अवलोकनका साथै वनभोज खाने र रमाइलोका लागि बोटिङ र बालबालिकाका लागि फनपार्क समेतको व्यवस्था रहेकाले यसको प्रचारप्रसार आवश्यक रहेकाे उनको भनाइ छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!