राजीव कुशवाहा
विराटनगर, ७ वैशाख । विश्व हिन्दु परिषद नेपाल मोरङको परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । हिन्दू परिषद विहिपका अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेको प्रवासको अवसरमा सोमबार विराटनगरमा परिचयात्मक भेटघाट कार्यक्रम आयोजना भएको थियो ।
भारतका पराण्डे करिब एक साता नेपालका सातै प्रदेश बस्ने गरी नेपाल आएका हुन् । सनातन हिन्दू धर्मको नेपालमा रहेका अवस्था, भइरहेको धर्म परिवर्तन, अत्याचार, हत्या, हिंसा, अपहरण, दुर्व्यवहार र बलात्कार बारे बुझ्न उनी नेपाल आएका अवसरमा सनातन धर्म सेवा समितिको भवनमा परिचयात्मक भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथिसमेत रहेका पराण्डेले विश्वका केही देशहरूमा हिन्दू समाज पीडितमा रहेकाे बताए । यस्तै उनले बङ्गलादेश र पाकिस्तानमा हिन्दू अस्तित्व नै समाप्त हुने अवस्थामा रहेकाे बताउँदै भने, ‘केही देशमा हिन्दु चेलीबेटीको बलात्कार, अपहरण हत्या, हिंसा धर्म परिवर्तन गर्ने गराउने काम भइरहेको छ । नेपाल र भारत देशमा चार किसिमको शक्ति लागेको छ । इसाई विचार, इस्लामिक विचार, कुनै धर्म न मान्नै र पश्चिमी विचारले हिन्दु समाजलाई अन्त्य गर्न लागेको छ ।’
कार्यक्रमका विशिष्ट अतिथि प्रेम भुलुङ्गले हिन्दू समाजलाई कमजोर बनाउन राष्ट्रिय जनगणना २०७८ मा विभिन्न कोडमा विभाजन गरिएको बताए । उनले हिन्दु, बाैद्ध, प्राकृतिक, अन्य गर्न खोजेको बताउँदै इसाई र मुस्लिमबाहेक एउटा मात्र हिन्दू हुन्छ र हिन्दूमा चिन्ह लगाउन पनि आग्रह गरे ।




