विराटनगर, ८ वैशाख । सुनसरीमा नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काममा ढिलाइ भएको छ । केन्द्रले अर्को साता अर्थात वैशाख १५ सम्मको अन्तिम मिति तोके पनि सुनसरीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको ७५ प्रतिशत मात्र काम सम्पन्न भएको नेपाली कांग्रेसका सुनसरी सभापति राजीव कोइराला बताउँछन् ।
गत सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले ७३ जिल्लालाई नवीकरण र नयाँ क्रियाशील सदस्यताको इन्ट्री गर्न वैशाख १५ को अन्तिम मिति निर्धारण गरेको थियो । केन्द्रीय क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकका अनुसार वैशाख १५ गते राति १२ बजेदेखि नवीकरण र नयाँ क्रियाशील सदस्यता कम्प्युटर सफ्टवेयरमा इन्ट्री हुने सिस्टम स्वतः बन्द गरिने छ ।
यस्तैमा ७३ जिल्लाले नै सदस्यता वितरण र नवीकरणको कामलाई तीव्रता दिएका छन् । तर सुनसरीमा भने सदस्यता वितरण तथा नवीकरणको काममा ढिलाइ भएको सभापति कोइरालाको भनाइ छ । उनका अनुसार सुनसरी जिल्लामा नवीकरण र नयाँ सदस्य गरी क्रियाशील सदस्यताको संख्या हालसम्म १६ हजार पुगेको छ ।
‘हामीले गत असोज महिनादेखि नै फारम उपलब्ध गराएका हौँ । तर पनि काममा ढिलाइ भएको छ । क्रियाशीलको विवरण पठाउन नसक्नु कार्यकर्ताकै कमजोरी हो । असोजमै फारम पठाउँदा अहिलेसम्म नवीकरणको काम पनि पूरा भएको छैन’ उनले भने । केन्द्रले जिल्लामा १९ हजार क्रियाशील सदस्यता हुनेगरी तोकेको छ । जसमध्ये कांग्रेसबाट १३ हजार र विजयकुमार गच्छादार नेतृत्वको मधेशी जनअधिकार फोलम (लोकतान्त्रिक)बाट ६ हजार १२९ क्रियाशील सदस्य रहने केन्द्रले जनाएको छ ।
आगामी भदौ ७–१० महाधिवेशन गर्ने तयारीमा जुटेको नेपाली कांग्रेसलाई समयमा नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण भइ नदिँदा समस्या खडा भएको देखिन्छ । कोइरालाका अनुसार नवीकरणको काम जिल्लाबाट भइरहेको छ । नयाँ सदस्यता वितरणको काम भने सुनसरी जिल्लाका चार वटा निर्वाचन क्षेत्रका कार्यसमितिले अनलाइनमार्फत काम भइरहेको उनको भनाइ छ । ‘सदस्यता वितरण तथा नवीकरणको काम भइरहेको नै छ । पहिलेको जस्तो कागजी काम हुँदैन । अनलाइनमार्फत काम भइरहेको छ । तर समय सकिन लागेको अवस्था छ,’ उनले थपे । यसैगरी उनले सदस्यता वितरणका केही समस्या भए पनि त्यस्ता समस्या चाँडै सुल्झिने बताए ।
उनले भने, ‘सदस्यता वितरणमा कृत्रिम समस्या देखिएका छन् । पहिलेदेखिकै एउटा समस्याचाहिँ गुटअनुसार र आफ्नालाई मात्र सदस्यता दिने हो । यो समस्या यथावत छ । तर बाक्लो रूपमा नभएर यो समस्या अहिले पातलो छ । समाधान हुन्छ यसको ।’ फोरम लोकतान्त्रिकसँग पार्टी समायोजनपछि सदस्यता वितरणमा केही विवाद भएको उल्लेख गर्दै उनले त्यस्ता विवादलाई दुवै पक्ष मिलेर समाधान निकालेको बताए । यस्तै अन्य राजनीतिक दलबाट धेरै जनाले कांग्रेस प्रवेश गरेको बताउँदै उनले यसरी पार्टी प्रवेश गरेकालाई पनि व्यवस्थापन गरिरहेको बताए ।
क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्रबमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेबी रकमलगायतका कागजातसहित जिल्लाको प्रतिवेदन वैशाख १७ गते ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु बैठकले निर्देशन दिएको छ ।




