विराटनगर, २१ वैशाख । सुनसरीमा मङ्गलबारबाट वैशाख ३१ गतेसम्म लागू हुनेगरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार आज बसेको बैठकले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको हो ।
त्यसबाहेक बैठकले जोर–बिजोर प्रणालीसमेत हटाएको छ भने अत्यावश्यकबाहेक हिँडडुलमा रोक लगाउँदै निषेधाज्ञा कडा बनाएको छ । ‘जोखिम बढेका कारण पूर्ण निषेधाज्ञा जारी गरिएको हो’, प्रजिअ ढकालले ग्रामीण खबरसँग भने, ‘ पछिल्ला केही दिनयता सङ्क्रमितको संख्या बढ्दै गइरहेको छ ।’
जिल्ला प्रशासन सुनसरी प्रशासनले सक्रिय सङ्क्रमित २ सय ५० पुग्दा जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा सक्रिय सङ्क्रमितको संख्या पाँच सय नाघेपछि निषेधाज्ञालाई थप कडा बनाइने बताइएको थियो । तर, निषेधाज्ञामा आंशिक कडाइ भए पनि संक्रमितको सङ्ख्या निरन्तर बढ्न थालेपछि निषेधाज्ञामा थप कडाइ गरिएको हो ।




