धरान, १७ जेठ । सुनसरीको धरान-१५ का प्रसन्न राई र अर्को साथी आफन्तसहित गाउँकै केही युवा समूहले ‘काट्ने मार्ने’ धम्की दिएपछि प्रहरीमा निवेदन अस्थायी प्रहरी चौकी पुगेका थिए । गाउँ टोलकै युवाहरू हुन भनेर चौकीका हवलदार विजय यादवले धम्की दिने मध्ये एकलाई फोन गरेर सम्झाउन थाल्छन् । यस्तो महामारीको समय त्यसमापनि निषेधाज्ञाको समयमा झैँ झगडा नगर भनेर सम्झाउँदै गरेका यादवले फोन गोजीमा राख्न नपाउँदै चौकी अगाडी हतियार धारी युवाको समूह एक्कासि आइपुग्छन् । गितारको ब्याक र झोलाबाट खुकुरी र कट्टी निकाल्दै ९ जनाको समूह चौकी भित्र प्रवेश गर्न खोज्छन् ।
‘बाहिर निकाल्’ भन्दै उक्त समूहले हो–हल्ला गरेपछि खाना खान लागेका प्रहरी पनि बाहिर निस्कन्छन् । उजुरी लेखाउन आएका प्रशन्न राई र उनका साथी भने चौकीभित्र लुकेरै बस्छन् । जबरजस्ती चौकीभित्र पस्न खोजेपछि इन्चार्ज सुमन दाहालसहित केही प्रहरी उनीहरूलाई रोक्न खोज्छन् । चर्को आवाज गर्नेलाई नियन्त्रणमा लिन खोज्छन् । त्यसपछि उक्त समूहले गितारको झोलामा बोकेर ल्याएको हतियार निकाल्न थाल्छन् । उनीहरूले खुकुरी, कट्टि र रड तेर्स्याउँदै आक्रमण गर्दै प्रहरीमाथि जाइलाग्छन् । त्यसक्रममा असई दाहालसहित चार प्रहरीहरू घाइते हुन्छन् । त्यै पनि प्रशन्न र उनका साथीलाई भने जोगाउँछन् ।

यो घटना गत बिहीबार बेलुका धरान उपमहानगरपालिका–१५ मा रहेको अस्थायी प्रहरी चौकीभित्रको हो । सो घटनामा असई दाहालको हातको औँला, पाता र ढाडमा गहिरो चोट लागेको जल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ । सुनसरी प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार अन्य प्रहरी धारिलो हतियार प्रहारबाटै घाइते हुनु परेको छ ।
आक्रमण हुनुअघि असई दाहाल ड्युटी सकेर खाना खाने तर्खरमा थिए । त्यहाँ रहेका अरू प्रहरी पनि ड्युटी चेन्ज गरेर खाना खाने तयारी गरिरहेका थिए । ड्युटी सकेका प्रहरीहरू पोशाक फेरेर खाना खाने तयारी गरिरहेका थिए । इन्चार्ज दाहालले पनि खाना खानलाई कपडा फेरेका थिए । अझ, एक हवल्दारले कपडा फेर्नका लागि लुगा मात्र खोलेको अवस्थामा थिए । सोही अवस्थामा धरान–१५ का प्रशन्न राई र उनका एक साथी प्रहरी चौकी छिरेका थिए । आफन्तसहित गाउँकै केही युवा समूहले आफूहरूलाई काट्ने–मार्ने धम्की दिएकोले आफ्नो ज्यान जोगाउनदिनू भन्दै प्रशन्न र उनका साथी प्रहरीमा निवेदन दिन आइपुगेका थिए । खाना खान लागेका प्रहरी विखलबन्दमा थिए । त्यतिबेलै हो–हल्ला गर्दै प्रहरी चौकीभित्र प्रवेश गरेकाे ९ जनाको एक समूहले उनीहरुमाथि हमला गरेको हो ।
सेल्फ प्रोटेक्सनका लागि चलाइएन गोली
हतियारसहित प्रहरी चौकीमा छिरेको समूहलाई प्रहरीले हलुकाको रूपमा लिँदा ४ जना प्रहरी घाइते हुनु परेको परिस्थितिले देखाउँछ । घटना हुँदा पनि प्रहरीले सेल्फ डिफेन्सका लागि गोली नचलाएको भन्दै प्रहरीकै आलोचना भइरहेको छ । प्रहरीलाई ‘सेल्फ प्रोटेक्सन’ का लागि कम्मरमुनिको भागमा गोली प्रहार गर्न वा हवाइ फायर गर्न अधिकार छ । प्रहरीको ऐनमा नै स्पष्ट लेखिएको छ कि हतियारधारी कुनै पनि समूहले प्रहरी सम्पत्ति वा प्रहरीमाथि आक्रमण गर्न आउँछ भने हतियार प्रयोगको न्यूनतम सिद्धान्त प्रयोग गर्न छुट छ । अथवा प्रहरीमाथि नै आक्रमण भएको अवस्थामा हवाई फायर अथवा कम्मरदेखि मुनि गोली हान्न उचित रहनेछ ।
तर डिएसपी कार्की भने एक्कासि आक्रमण भएका कारण प्रहरी प्रतिवादमा उत्रिन नसकेको बताउँछन् । खाना खानका लागि तयारी अवस्थामा रहेका कारण प्रहरीसँग हतियार तयारी अवस्थामा नरहेको बताउँदै कार्कीले प्रहरीले चाहेर पनि गर्न नसकेको उल्लेख गरे । ‘हामीले पनि घटनापछि गोली किन चलाइएन भनेर सोधेका थियौँ’, उनले ग्रामीण खबरसँग भने, ‘तर हामी आफैँले त्यो ठाउँमा आफैँलाई राखेर हेर्दा पनि गोली चलाउन सक्ने अवस्था थिएन । एक त छोटो समय त्यैमाथि हतियारसहितको पोशाक खाना खाने ठाउँमा छोडेको अवस्था थियो । हतियार खोज्न जाँदा त्यहाँ अप्रिय घटना घट्ने पक्का थियो ।’ थोरै दरवन्दीमा रहेका प्रहरी अनि अप्रत्याशित रूपमा घटना भएका कारण प्रहरीहरू तत्काल प्रतिवादमा उत्रन नसकेको उनको भनाइ छ ।




