इटहरी, १८ जेठ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो पार्ने भएको छ । आइतबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले विकास निर्माण तथा उत्पादनमूलक एवं कृषिजन्य रोजगारीका क्षेत्रमा स्वास्थ्य मापदण्ड अपनाई सहजीकरण गर्ने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार निर्माण सामग्री बोकेका हाइड्रोलिक अनलोड सिस्टम भएका ट्रक तथा ट्रिपरलाई निर्वाध रुपमा चल्न दिने निर्णयसमेत भएको छ । अक्सिजन रिफिल गरी वितरण गर्दा कोभिड उपचार केन्द्र तथा आइसोलेसनलाई मात्र वितरण गर्न दिइने भएको उनको भनाइ छ ।
यसैबीच, मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ बमोजिम जिल्लाको कोभिड १९ प्रतिकार्य अधिकारीको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।




