विराटनगर, २४ जेठ ।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना सङ्क्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया भएको छ । झापाका ३८ वर्षीय ती व्यक्ति एउटा घरको भित्ता प्लाष्टर गर्दैगर्दा ११ गते दिउँसो १ बजेतिर ६ फिटको उचाई बाट झर्दा छातीको देब्रेपट्टि कोखाबाट एउटा रड करिब १२ इन्च (४० से.मी.) जति भित्र छिरेको थियो ।
छातीको देब्रेपट्टी करङलाई छेडेर फोक्सोको तल्लो भाग र मुटुको प्रि–कार्डियममा समेत चोट पुर्याउने गरी छेडिएको रड शल्याक्रियामार्फत सफलता पूर्वक निकालिएको हो । चिकित्सकहरुले लेफ्ट थ्रोराकोटोमी र एक्प्रोरेटीभ लाप्राटोमी नामक शल्याक्रिया गरेर छातीबाट उक्त रडक सफलतापूर्वक निकालेको वीपीका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए ।
गत जेठ ११ गते उनको छातीमा रड गाडिएका उनलाई वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । साँझ अस्पताल भर्ना गरिएका ती पुरुषको बेलुका ७ बजे अस्पतालमा शल्याक्रिया सुरु गरेर राती ११ बजे सफलतापूर्वक सकिएको थियो । शल्याक्रिया अगाडी बिरामीको एक्स–रे, सिटी स्क्यान तथा कोरोनासहित शल्याक्रियाका लागि आवश्यक अन्य परीक्षण गरिएको थियो । त्यस क्रममा कोरोना संक्रमण समेत पोजेटिभ देखाएपनि बिरामीको स्वास्थ्यलाई ख्याल गर्दै चिकित्सकहरुले शल्याक्रिया गरेका हुन् ।
जेनेरल सर्जरी विभागका डा. सुरेशप्रसाद शाहको नेतृत्वमा डा. लोकेश शेखर जैसवाल –कार्डियो थोरासिक भास्कुलर सर्जन), डा. विजय श्रेष्ठ, डा. पवन सापकोटा त्यसैगरी एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डललगायतको टिमले अपरेसन थालेको थियो ।
विरामीलाई ओ.टी. टेबलमा पुर्याइसकेकको अवस्थामा निजको जिन–एक्पर्टका आधारमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि चिकित्सकहरुले आफ्नो कर्तव्य पालना गर्न शल्याक्रियामा खटिएका थिए ।
शल्यक्रिया पश्चात निजलाई सोही दिन कोभिड अस्पतालको आई.सि.यू. मा भर्ना गरी बाँकी उपचार सुरु गरिएको थियो । विरामी दु्रत गतिमा निको हुँंदै जाँदा जेठ १७ गते पुनःपीसीआर परीक्षण गर्दा नेगेटिभ आएको प्रवक्ता पोखरेलले जानकारी दिए । त्यसपछि सर्जरी वार्डमा सारिएका उनको पूर्ण स्वास्थ्य लाभपछि आज डिस्चार्ज गरिएको हो ।




