झापा, २७ जेठ । झापामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत इलामकी सेजला कोइरालाको रहस्यमय मृत्यु भएको हो ।
दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी उनको बुधबार साँझ रहस्यमय मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान सुरु भइसकेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै डिएसपी कार्कीले जानकारी दिए ।
घटनालगत्तै पीडितका अभिभावक राति ११ बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।




