मुकेश यादव
विराटनगर, २७ जेठ । विराटनगरको अपन विराटगढ परोपकार समाज राहत वितरण अभियानमा जुटेको छ । परोपकार समाज कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण मारमा परेका बिपन्न, एकल महिला तथा जेष्ठ नागरिकलाई राहत वितरण गर्न थालेको हो ।
बिहीबार परोपकार समाजले समृद्धि नेपालसँग सहकार्य गर्दै विराटनगर महानगरपालिका-१४ मा राहत वितरण गरेको हो । परोपकार समाज र समृद्धि नेपालले संयुक्त रुपमा गरिब, एक महिला तथा वृद्धलगायतका १५ जनालाई राहत वितरण गरेका थिए ।
परोपकार समाजकी अध्यक्ष बसुन्धरा झाका अनुसार आज चामल, दाल, तेललगायत खाद्यान्न वितरण गरिएको हो । यसअघि बुधबार अपन विराटगढ परोपकार समाजले वडा नं १३ का २० जनालाइ राहत उपलब्ध गराएको थियो ।
शुक्रबार अर्को वडामा वितरण गर्ने अध्यक्ष झाले जनाइन् । यसरी नै विराटनगर महानगरपालिकाभरि नै राहत वितरण गर्ने लक्ष्य रहेको बताउँदै उनले यो अभियानलाइ निरन्तरता दिने बताइन् ।
यता, महामारीका बेला सकेको सहयोग गर्दा कोरोना रोकथाम अभियान सार्थक बन्ने समृद्धि नेपालकी अध्यक्ष बिमला अर्यालले बताइन् । परोपकार समाजकी अध्यक्ष बसुन्धरा झा, समृद्धि नेपालकी अध्यक्ष अर्याल, समाज सेविका ममता सुवेदी यादवलगायतको पहलमा सो राहत वितरण गरिएको थियो ।




