विराटनगर, ३ असार । बिहेका लागि कर गर्न थालेपछि मोरङमा एक युवाले प्रेमिकाको बीभत्स हत्या गरेको खुलेको छ । रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दाले प्रेमिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरीता सोरेनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार कुटपिट गरेर र घाँटी थिचेर हत्या गरेपछि सरीताको शव भने मकैबारीमा फ्यालिदिएको अवस्थामा फेला परेको थियो । डेढ महिनाअघिको घटनाका अभियुक्त लामो समयपछि बुधबारसाँझ मात्रै पक्राउ परेका छन् । बिहेमा जानभन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव रतुवामाई–६ स्थित मकैबारीमा फेला परेको थियो । स्थानीय रामप्रसाद भण्डारीले अनुहार, घाँटी र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा महिलाको बीभत्स शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
एक सन्तानकी आमा सरीता कानेपोखरी–२ मा रहेको गाई फार्ममा काम गर्थिन् । प्रहरीका अनुसार बिहेमा जान भनेर उनी गाई फार्म र आफ्नो घरदेखि वैशाख १७ गते नै बिदा लिएर हिँडेकी थिइन् । त्यसपछि रतुवामाई पुगेर सरीताले सुफललाई भेटेपछि घटना भएको देखिने प्रहरीले जनाएको छ ।
घटनापछि सुफल फरार बनेका थिए । मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले उनलाई महेन्द्रनगरको कञ्चनपुरबाट पक्राउ गरेर मोरङ ल्याएको छ । प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।
सरीताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार सरीताका श्रीमान र सुफल चिनजानका साथी थिए । दुवै जना ट्याक्टर चालक रहेको खुलेको एसपी खड्काले दिए । उनका अनुसार साथीको मृत्यु भएपछि पुरानै चिनजानका आधारमा श्रीमती सरीतासँग सुफल नजिकिएका थिए ।
मृत्यु भएका साथीकी श्रीमतीसँग प्रेमका नाममा अवैध सम्बन्ध राख्दै आएका सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान रहेको खुलेको छ । हत्या गरिएकी सरीता पनि एक सन्तानकी आमा हुन् ।




