विराटनगर, २३ असार । वरिष्ठ अभिनेता दीलिप कुमारको मृत्यु भएको छ । ९८ वर्षीय उनको बुधबार उपचारको क्रममा मुम्बईस्थित हिन्दुजा अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत ३० जुनमा अस्पताल भर्ना गरिएको थियो ।
बलिउडमा दीलिप कुमार ‘ट्रेजेडीको राजा’ उपनामबाट परिचित छन् । सन् १९४४ मा आएको हिन्दी फिल्म ‘ज्वारभाटा’बाट डेब्यु गरेका दीलिपले आफ्नो करिअरमा आठवटा फिल्म फेयर अवार्ड जितेका छन् ।
उनले आफ्नो करिअरमा ६५ भन्दा बढी फिल्महरूमा अभिनय गरिसकेका छन् । उनको करिअरको अन्तिम फिल्म ‘किला’ हो । उमेश मेहराको निर्देशन रहेको ‘किला’ सन् १९९८ मा रिलिज भएको थियो ।




