काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेभित्रै सम्पन्न गर्नेगरी तयारी अगाडि बढिरहेको छ । यसैक्रममा शनिबार बिहान काठमाडौंको चाकसीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको निजी निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुबीचमा पुनस् छलफल भएको छ ।
बिहान भएको छलफलमा वरिष्ठ नेता पौडेलसहित डा। शेखर कोइराला, डा। रामशरण महत, डा। मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, जगदिश्वर नरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरुको उपस्थिति रहेको थियो। बैठकमा काँग्रेसले संवैधानिक बाध्यताका कारण पनि तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने नेता प्रकाशमान सिंहले बताए ।
जिल्ला सभापतिहरुको धर्नाका विषयमा पनि बताउनुहुँदै सिंहले जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धि विवाद एक, दुई दिनभित्रै टुंगिने विश्वास व्यक्त गरे । हिजो शुक्रबार सम्ममा ४७, ४८ वटा जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धमा विवाद समाधान भएको छ, अरु बाँकी जिल्लाहरुको पनि एक, दुई दिनमै टुंगो लाग्नेछ, नेता सिंहले जानकारी दिए ।




