सुनसरी । धरान उपमहानगरपालिकामा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । मङ्गलबार परेको अविरल वर्षाको कारण घर पुरिँदा धरान–१३ नागेश्वर मार्ग बस्ने निशान राईकी छोरी आठ वर्षीया निशु राई र छोरा चार वर्षीय निहान राईको मृत्यु भएको हो ।
आज दिउँसो पौने २ बजे घरमाथिबाट झरेको पहिरोले निशान राईको १ तले टिनको छाना भएको घर पुरिएको थियो । घर पुरिँदा सो घरभित्र रहेका दुई जना बच्चासमेत पुरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य थालेको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुई बालबालिलाई मृत अवस्थामा फेला पारेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी प्रवक्ता डिएसपी नवीन राईले जानकारी दिए ।




