सुनसरी । सुनसरीको क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले लगातार तेस्रोपटक प्रतिनिधिसभा सदस्य बन्न चुनावी प्रतिस्पर्धा गर्दैछिन् । पूर्वराज्यमन्त्रीसमेत रहेकी चौधरीले आफ्ना एकमात्र पुराना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारको सामना गर्दैछिन् ।
यसअघि २०७० सालको दोस्रो संविधानसभाको चुनाव र २०७४ सालको प्रतिनिधिसभाको चुनावमा चौधरी गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन् । गच्छदारलाई सत्तारूढ गठबन्धन दलको साथ छ भने एमालेकी चौधरीलाई जनता समाजवादी पार्टी (जसपा) ले सघाउने छ ।
नेपालको लघुवित्त क्षेत्रकी एक हस्ती मानिने चौधरी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छिन् । एमाले केन्द्रीय सदस्य चौधरीले लघुवित्त क्षेत्रबाट समाज सेवामा अतुलनीय योगदान पुर्याइरहेकी छन् । त्यसबाहेक चौधरीले राजनीतिक रूपमा आफ्नो कद अग्लो बढाइरहेकी छन् ।
लघुबित्तबाट उनले हजारौं मानिसलाई जागिर दिएर उनीहरुको घरमा चुल्हो बाल्ने आधार बनाइदिएकी छन् । सँगै लघुबित्त कार्यक्रम मार्फत धेरै महिला दिदिबहिनीहरूको आर्थिक स्तर उकास्ने काम गरेकी छन् ।
चौधरी २०७४ को प्रतिनिधिसभा निर्वाचनको नतिजाबाट असन्तुष्ट छिन् । निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा बदर मतको पुनः गणनाको माग गर्दै रिट हालेपनि अहिलेसम्म फैसला भएको छैन । अब भने, चौधरी जनताबाट नै भारी मतका साथ अनुमोदित भएर संसदमा प्रवेश गर्ने तयारीमा छन् ।
‘मलाई अदालतले अन्याय गरेकै हो, मेरो मुद्दा औचित्यहीन बनाइएकै हो,’ चौधरी भन्छिन्, ‘मलाई संसद जान नदिन सबैतिरबाट पेलियो । अब, यहाँका जनताले मात्र न्याय दिन सक्नुहुन्छ, सदनमा आफ्नो भिजन देखाउन मलाई निर्वाचित गराउनुहुनेछ भन्ने अपेक्षा छ ।’ निर्वाचन कार्यक्रम अन्तरगत घरदैलो गर्दै गर्दा जनता माझ चौधरीले भनिरहेकी छिन् ।
अब पनि जनताले विश्वास गरेर जनप्रतिनिधि नबनाए आफूजस्तो नेतृ सुनसरी क्षेत्र नम्बर ३ का जनताले नपाउने उनको दाबी छ । राज्यमा जान नपाउँदा आफ्नो भिजन, मिसन थाँति रहेको उनको भनाई छ । सत्तामा नपुगेपछि व्यक्तिगत तवरबाट ल्याएर स्थानीयहरूलाई विकास र समृद्धिको झल्को देखाउन सफल भएको उनको भनाई छ।
चौधरीले आफ्नो उम्मेदवारी समग्र जनताको आर्थिक विकासका लागि भएको बताउँदै यसपटक धाँधली हुन नदिन जनता स्वयं जागरूक हुने पनि बताउँछिन् । ‘हाम्रा लागि ठुलो चुनौती भनेको धाँधली नै हो,’ उनी भन्छिन्, ‘तर यसपटक धाँधली हुन दिन्नँ, जनता पनि सजग छन् । जनतालाई साक्षी राखेर त्यसो हुन दिन्नँ ।’ चौधरी भन्छिन् ।
सुनसरीको क्षेत्र नम्बर ३ का मतदाता पनि महिला उम्मेदवार पाएकोमा हर्षित छन् । यो क्षेत्रमा थारू मत नै जीतको मुख्य आधार भएता पनि इटहरी, दुहवीका अन्य मतदाताको रोजाई भगबती चौधरीमा देखिएको छ । यस क्षेत्रमा कुल एक लाख २५ हजार चार सय ३२ जना मतदाता मध्ये आधाभन्दा बढी मत थारू समुदायको छ ।
सुनसरी–३ मा इटहरी उपमहानगरपालिकाका ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बर वडा गरेर १० वटा वडा छन् । गढी र बर्जु गाउँपालिका तथा दुहबी नगरपालिकाका सबै वडा समेटिन्छन् । इनरुवा नगरपालिकाको वडा नम्बर ७ मात्रै यो क्षेत्रतिर पर्छ ।




