२०८० जेष्ठ १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

केवल आठ महिनाको अन्तरालमा, कोभिड– १९ को महामारीले विश्वमा दुई करोड ५६ लाखभन्दा बढीलाई संक्रमण गराएर आठ लाख ५९ हजारजतिको मृत्यु गराइसकेको छ ।

नेपालमा पनि संक्रमण फैलिँदै गएर ४० हजारभन्दा बढीलाई संक्रमण गराई दुई सय ३९ जनाको ज्यान लिइसकेको छ । कोरोनाले विश्वको जनस्वास्थ्य, अर्थतन्त्र, शिक्षा तथा मनोवैज्ञानिक अवस्थालाई आक्रान्त पारेको छ । महाव्याधिबाट प्रभावित नेपालजस्ता कमजोर अर्थतन्त्र भएका मुलुक बढी नै अस्तव्यस्त बनेका छन् ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएका महिला र पुरुषमा मृत्युदर कस्तो छ ? कुन उमेर समूह बढी जोखिममा छन् ? पछिल्लो समय चासोका विषयमाथि नेपालको कोरोनाको तथ्यांकको चिरफार, तुलानात्मक मूल्यांकन र विश्लेषणको लेखाचित्र यहाँ प्रकाश पार्न खोजेको छु ।

हालसम्म, नेपालमा कोरोना संक्रमणबाट ०७७ जेठ २ मा पहिलो मृत्यु भएयताको करिब सय दिनको अन्तरालमा दुई सय ३९ मृत्युका घटनाहरू दर्ज भएका छन् । अहिलेसम्म कुल संक्रमणमा ०.५९ प्रतिशत मृत्युदर छ ।

नेपालमा साउन महिनाको पहिलो हप्तापछि कोरोना संक्रमणबाट मृत्युका घटनाहरू पाँच गुणाले वृद्धि  भएको आंकडाले देखाउँछ । यसले पक्कै पनि अबको परिस्थितिको गाम्भीर्यताको संकेत गर्छ । साउन महिनापछि मृत्युको वक्ररेखा रकेटझैँ सीधै माथि उक्लिएको छ ।

सोमबार १२ सय २१ संक्रमित थपिएको दिन १४ जनाको मृत्यु भएको छ । हाल कोरोनाबाट विश्वव्यापी मृत्युदर ३.३६ प्रतिशतमा छ । जसमध्ये दक्षिण एसियाली मुलुक अफगानिस्तानको ३.६७ प्रतिशत, पाकिस्तानको २.१२ प्रतिशत, भारतमा १.८ प्रतिशत र बंगलादेशमा १.३६ प्रतिशत पुष्टि भएको छ ।

नेपालको विगत एक हप्ताको कोरोना संक्रमण पुष्टि मृत्युदरले बंगलादेशको मृत्युरदरलाई पछ्याइरहेको ट्रेन्ड देखाएको छ । तर, नेपालमा पछिल्लो समय संक्रमण समुदायस्तरमा फैलँदै गएकाले अब कमजोर समूह (दीर्घरोगी, वृद्धवृद्धा आदि) संक्रमित हुन थालेका छन् । यसबाट नेपालमा मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको छ । विशेष सावधानी अपनाएर कमजोर समूहलाई संक्रमण जोगाउन सकिएन भने ठण्डीको मौसममा नेपालमा कोरोनाले अझ बढी प्रभाव पार्न सक्छ ।

नेपालमा हालसम्मको कोरोनाको संक्रमण अध्ययन र विश्लेषण गर्दा, कुल संक्रमितमा २१.४ प्रतिशत महिला छन् भने ७८.६ प्रतिशत पुरुष छन् । शायद नेपाली महिलाभन्दा बढी पुरुष काम, जागिर र अरू कामको सिलसिलामा घरबाहिर हुने हुँदा कोरोनाको संक्रमणको जोखिममा बढी देखिएको अनुमान सहजै गर्न सकिन्छ । कुल कोरोना मृत्युको घटनामा एकचौथाइ महिला छन् ।

त्यसैगरी, उमेर समूहको आधारमा हेर्दा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी संक्रमणमा परेका छन् । जुन कुल संक्रमितको एकतिहाइभन्दा बढी छ । यद्यपि यो उमेर समूहमा अरूभन्दा तुलनात्मक रूपमा मृत्युदर निकै कम छ । युवा उमेरमा कोरोनासँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता उच्च हुने भएकाले मृत्युदर कम भएको अनुमान छ । ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति कुल संक्रमितको एकचौथाइ छन् । यो उमेर समूहमा पनि तुलनात्मक रूपमा कम मृत्युदर छ । अहिलेसम्म कुल संक्रमितमा ११ देखि ५० वर्ष उमेर समूहका ८५ प्रतिशत छन् ।

तर, असी वर्षभन्दा माथिको उमेरका वृद्धवृद्धामा सबैभन्दा उच्च मृत्युदर (१२ प्रतिशत) देखिएको छ, जसमा पुरुषमा १४ प्रतिशत र महिलामा आठ प्रतिशतको मृत्युदर रहेको तथ्यांकले देखाउँछ । ७० देखि ८० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूमा पनि आंकडाले मृत्युदर ६ प्रतिशत देखाएको छ, जसमा पुरुषको मृत्युदर नाै प्रतिशत र महिलाको मृत्युदर करिब तीन प्रतिशत छ । यसबाट महिलाको तुलनामा पुरुषमा मृत्युदर बढी रहेको देखिन्छ ।

त्यसैगरी, ६० देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूमा पनि आंकडाले तुलनात्मक रूपमा केही बढी मृत्युदर रहेको देखाउँछ । यो समूहमा मृत्युदर चार प्रतिशत रहेको छ । यो उमेर समूहमा भने पुरुष र महिला मृत्युदरमा केही समानता पाइएको छ । ५० देखि ६० वर्ष उमेर समूहको मृत्युदर आंकडाले १.६ प्रतिशत रहेको देखाउँछ । तुलनात्मक रूपमा साठी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूमा कोरोनाको मृत्युको जोखिम बढी देखिएको छ । जसलाई ६० वर्षभन्दा कम उमेर समूहको मृत्युदरसँग तुलना गर्दा उल्लेखनीय भिन्नता पाइएको छ ।

नेपालको उमेर समूहको कोरोना संक्रमित मृत्युदर विश्व स्वास्थ्य संगठन र चीनले गरेको फेब्रुअरी २८, २०२० को संयुक्त अध्ययनसँग लगभग मिलेको देखिन्छ । विश्व स्वास्थ्य संगठन र चीनको अध्ययनले भिन्न उमेर समूहमा मृत्यु हुनेको दर जुन पाएको छ नेपालका तथ्यांकले पनि लगभग मृत्युको त्यही दर देखाउँछ । अर्थात्, विश्वमा कोरोना संक्रमणबाट जुन दरमा मानिसको मृत्यु भएको छ नेपालमा पनि त्यही दर र संख्यामा मृत्यु हुन सक्ने सम्भावना उच्च छ । यसर्थ, अब बढ्न सक्ने मृत्युको संख्यालाई कसरी कम गर्ने भन्नेतर्फ ध्यान दिन ढिला हुन थालिसकेको छ ।

नेपालको कोरोनाको तथ्यांक विश्लेषण गर्दा ५० वर्ष वा कम उमेर समूहका व्यक्तिहरूमा भन्दा ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिहरूमा मृत्युको जोखिम लगभग १२ गुणा बढी देखिएको छ । र, तुलना गर्दा उल्लेखनीय भिन्नता (लेवल अफ सिग्निफिकेन्स) पाइन्छ ।

माथिका तथ्य र विविध पक्षहरू केलाउँदा, कोरोनाको पुष्टि भएका ७० वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकहरूमा गम्भीरता र मृत्युको जोखिम उच्च हुने हुँदा अति संवेदनशील भएर कोरोना प्रसारण र संक्रमणको रोकथामलक्षित सुरक्षा नीतिहरू कडाइका साथ पालना गरी यो समूहलाई जोगाउनुपर्ने अवस्था देखिन्छ । ८० वर्षभन्दा बढी उमेर समूहका वृद्धवृद्धालाई अझै विशेष हेरचाह हुनुपर्ने तथ्यांकको विश्लेषणले पुष्टि गर्छ । वृद्धवृद्धामा तुरुन्तै कोरोनाको परीक्षण र निदान गर्नुका साथै केही गरी संक्रमित भइहाले उचित आइसोलेसनको व्यवस्थापन तथा यथाशीघ्र अस्पतालमा उपलब्ध आपतकालीन सहयोगी उपचार गर्नुपर्ने हुन्छ । अब, यी उमेर समूहका मानिसलाई कसरी हेरचाह गर्ने, संक्रमण हुनबाट घरमा कसरी जोगाउने, भइहाले के गर्ने जस्ता पक्षमा छुट्टै योजना निर्माण गरी अघि बढ्न आवश्यक छ ।
(आनन्दवन अस्पतालस्थित कोभिड– १९ डायग्नोस्टिक प्रयोगशालाका प्रमुख तथा अनुसन्धान वैज्ञानिक डा. दुलालले अमेरिकाबाट विद्यावारिधि तथा पोस्ट–डक्टरल फेलोसिप गरेका छन्। )

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!