२०८० चैत्र ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

माधव काफ्ले

पार्टीको समर्थन भए अर्कोपल्ट पनि गाउँपालिका अध्यक्षकै लागि लड्छु

देवानगञ्ज, २० मंसिर । सुनसरीको देवानगञ्ज गाउँपालिका नेपाल–भारत सीमामा पर्ने एउटा स्थानीय तह हो । साविकको राजगञ्ज सिनुवारी, साहेवगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही र देवानगञ्ज गाविसलाई मिलाएर देवानगञ्ज गाउँपालिका बनेको छ ।

गाउँपालिकामा ७ वटा वडाहरु छन् । दक्षिणी सीमा भारतको बिहार राज्यको अररिया जिल्लासँग जोडिएको र खुल्ला सिमाना भएकाका कारण चोरी डकैतीको त्रास भने निकै छ । तथापि, गाउँपालिकामा सुरक्षा व्यवस्था भने निकै कडा छ ।

देवानगञ्ज गाउँपालिकाका ९० प्रतिशत स्थानीयहरू कृषि पेशामा आधारित छन् । विभिन्न बालीहरूको उत्पादन राम्रो भएकाले यस गाउँपालिका तरकारीको पकेट क्षेत्र हो । यहाँ उत्पादन भएका बालीहरू प्रदेश नं १ को राजधानी विराटनगर निर्यात हुनेगरेको छ ।

तर, कृषिमा आश्रितका लागि समयमा मल तथा बीउबिजनको पर्याप्त उपलब्धता नभएको गुनासो बर्सेनि आउनेगरेको छ । गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता भने किसानको समस्या हल गर्न लागिपरेका छन् ।

कृषिबाटै आफ्नो गाउँपालिकालाई समृद्धिको बाटोतर्फ उन्मुख गराउनसक्ने बताउँदै मेहताले यस आर्थिक वर्षमा कृषि क्षेत्रका लागि ६५ लाख बजेट विनियोजन गरेको बताए ।

ग्रामीण खबर डटकमका लागि माधव काफ्लेले गाउँपालिका प्रमुख मेहतासँग गरेको कुराकानीः

कोरोनाका कारण गाउँपालिकामा के–कस्तो प्रभाव परेको छ ? र, रोकथाम तथा नियन्त्रणका लागि पालिकाले कस्तो कदम चालिरहेको छ ?

विश्वमै आक्रान्त मच्चाइरहेको कोरोनाले हाम्रो देश र हाम्रो गाउँपालिकामा प्रभाव नपार्ने कुरा नै भएन । देवानगञ्ज गाउँपालिकाले कोरोना रोकथामका लागि धेरै प्रयासहरु गरिरहेको छ । कोरोना संक्रमितको उपचारको सम्पूर्ण व्यवस्था गाउँपालिकाले लिएको थियो र हाल पनि सो व्यवस्था कामयै छ ।

धेरै संक्रमितहरुले होम आइसोलेसनमा बस्छु भनेका थिए, उनीहरुलाई सो व्यवस्था मिलाई त्यहाँ चाहिने औषधिलगायत भिटामिनको व्यवस्था गरिरहेका छौं ।

देवानगञ्ज वडा नम्बर ७ मा एउटा आइसोलेसन पनि सुचारु छ । त्यहाँ संक्रमितहरुलाई राखेर ठीक बनाएर पठायौं । यस गाउँपालिकामा तीन वटा क्वारेन्टाइन सञ्चालनमा थिए । वडा नं ३ को मदर्सामा एउटा, वडा नं २ को श्री माविमा एउटा र वडा नं ७ को स्वास्थ्यचौकीमा एउटा गरी तीन वटा क्वारेन्टाइन सञ्चालनमा थिए ।

त्यसबाट यहाँका जनतालाई धेरै राहत दियौं । त्यहाँ रहेका मानिसलाई खाना–चियाको व्यवस्था गरेका थियौं । पहिलो र अहिलेमा थोरै अन्तर देखिएको छ । महामारीको सुरुवातमा पहिले भारतबाट नेपाल प्रवेश गरेका नागरिकलाई हामी क्वारेन्टाइनमा राख्थ्यौं । तर, अहिले सीमाबाट आवत–जावत बढेको छ । त्यसकारण अहिले क्वारेन्टाइनमा बस्ने मान्छेको संख्या घटेको छ । बरु मानिस सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

नजिकै नेपाल–भारत सीमा छ । महामारीका बेला सीमामा कस्तो सुरक्षा व्यवस्था छ ?

सुरक्षाको व्यवस्था हुँदा–हुँदै पनि खुला बोर्डरको कारणले मानिसहरुको आवत–जावत भैरहेको छ । खुला सीमा भएकै कारण सीमा वार–पार भइरहेको छ । हामीले सीमामा सुरुक्षाकर्मी खटाएका छौं । उहाँहरुले पनि आफ्नो जिम्मेवारी बहन गरिरहनु भएको छ । तर खुला सीमा भएकै कारण सीमा वार–पार भइरहेको छ ।

त्यसरी आवत–जावत गर्नेलाई क्वारेन्टाइनमा राख्न सकिएको छैन । त्यसरी नेपाल प्रवेश गर्नेहरु आफैं होम क्वारेन्टाइनमा रहेको जानकारी पाएका छौ ।

गाउँपालिकामा हाल कोरोना संक्रमितको अवस्था के कति छ ? होम आइसोलेसनमा कति संक्रमित छ र त्यसरी बसेका संक्रतिमलाई के कस्तो व्यवस्था गरेको छ ?

गाउँपालिकामा कोरोना परीक्षण गर्ने सुविधा छैन । कोरोना परीक्षणका लागि विराटनगर जानुपर्छ । विराटनगरमा कोशी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दाको रिपोर्टहरू मात्र गाउँपालिकामा आउँछ । प्राइभेट अस्पतालले रिपोर्ट पठाउँदैनन् । यसैले यकिन संक्रमितको संख्या यति नै भन्न सकिँदैन ।

तथापि, हामीलाई जानकारी भएका संक्रमितलाई उपचारमा निःशुल्क गरिएको छ । यसैगरी होम आइसोलेनमा बसेका संक्रमितलाई पनि हामीले स्वास्थ्यवर्दक सामग्री उपलब्ध गराएका छौं । सेल्फ आइसोलेसनमा बसेका संक्रमित गाउँपालिकाका स्वास्थ्यकर्मीको निगरानीमा छन् । हाम्रा स्वाथ्यकर्मीले उनीहरुलाई तातो पानीसमेतको व्यवस्था गरिदिन्छन् ।

गाउँपालिकामा हालसम्म कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेका एक जनाको मृत्यु भएको छ ।

गाउँपालिकामा कोभिड अस्पतालको व्यवस्था छैन ?

गाउँपालिकामा ५ बेडको कोभिड अस्पताल छ । तर त्यहाँ विरामी छैनन् । मंंसिर ८ गते कोभिड अस्पतालको उद्घाटन भएको थियो । वडा नं ७ राजगञ्ज सिनवारीमा ५ बेडको अस्थायी कोभिड अस्पताल उद्धाटन भएको छ ।

अक्सिजनसहितको पाँच बेडको कोभिड अस्पताल हो ।

कृषि क्षेत्रका लागि गाउँपालिकाले के गरिरहेको छ ?

देवानगञ्ज गाउँपालिका कृषि क्षेत्रबाट नै परिचित छ । यहाँका ९० प्रतिशत स्थानीयहरु कृषि पेशामा आधारित छन् । यस गाउँपालिका तरकारीको पकेट क्षेत्र हो । यहाँ उत्पादन भएका बालीहरूले नै प्रदेश राजधानी विराटनगर धान्छ ।
हामीले किसानलाई प्राथमिकतामा राखेका छौं । यस क्षेत्र अझ विस्तारका लागि हामीले यसै आथिर्क वर्षमा ६५ लाखको बजेट विनियोजन गरेका छौं । त्यसमध्ये ३० लाख मकै बीउमा, २५ लाख स्प्रेमा र १० लाख गहुँको बीउका लागि छुट्याएका छौं । यस्तै जौ घाँसका लागि साढे तीन लाख छुट्याइएको छ ।

यो किसानले भरिपूर्ण क्षेत्र हो । हामी किसानप्रति पूर्णउत्तरदायी छौं । किसानका लागि नै महत्वपूर्ण काम गरिरहेका छौं । कामका सिलसिलामा कति जनाले अनेकथरी कुरा गर्लान् । त्यो भन्न सकिँदैन । कहिलेकाँही काममा बाधा अड्चन आउँछन् ।

हामीले मकैको बीउ निःशुल्क दिइरहेका छौं । ३० लाखको बीउ गाउँपालिकामा निःशुल्क बाँडेका छौं । २५ लाखको स्प्रे मेसिन पनि बाँडेका छौं, अनुदानमा दिइरहेका छौं । यसैगरी किसानलाई मात्र नभएर व्यापारीलाई पनि राहत होस् भनेर हामीले कोल्ड स्टोर (शीत भण्डार) बनाइरहेका छौं ।

विकास निर्माणमा कसरी अगाडि बढ्दैछ गाउँपालिका ?

संघीयता जारी भएपछि विकासमा हरेक क्षेत्र अगाडि बढ्छ नै । यो स्वभाविक हो । तर, अन्य स्थानीय तहको तुलनामा देवानगञ्ज गाउँपालिका विकास निर्माणमा पछाडि परेको थियो । धेरै सडकहरु कच्चि अवस्थामा थिए, सामुदायिक भवनको अभाव थियो । विद्यालयको अवस्था पनि नाजुक नै थियो ।

म निर्वाचित भएपछि विकास निर्माणको कामले तीव्रता पाएको छ । सकडहरु पीच भएका छन् । करिब दुई करोडको लागतमा दुई वटा विद्यालय स्तरोन्नति भएको छ । अमरसिंह माविमा १६ कोठाको भवन सम्पन्न भइसकेको छ भने आठ कोठाको बन्नेक्रममा छ । यस्तै कृष्ण माविमा आठ कोठाको भवन बनिसकेको छ । यस्तै त्यहाँ आठ कोठा बन्नेक्रममा छ ।

त्यसबाहेक करिब ७६ लाख लागतमा बिपी प्रजातान्त्रिक सैनानी भवन बनेको छ । अनि पुलहरु बनेका छन् । मन्दिर पनि निर्माणाधीन अवस्थामा छ । त्यति मात्र नभएर हामीले बोर्डिङ स्कुललाई गाउँपालिका भवनको रुपमा प्रयोग गर्दै आएका थियौ ।

तर अहिले हामीले गाउँपालिका भवन बनाइरहेका छौं । ९ करोड १८ लाखको लागतमा गाउँपालिका भवन पनि निर्माण गरिरहेको छ । देवानगञ्ज वडा नं २ मा बन्दै गरेको सो भवनका लागि हामीले धेरै मेहनत गर्न परेको थियो ।

मन्त्रिपरिषद्को निर्णयबाट नेपाल सरकारको स्वामित्त्वमा रहेको सो जग्गामा गाउँपालिकालाई भवन बनाउन स्वीकृति दिइएको हो । मन्त्रिपरिषद्मा प्रस्ताव पठाएर हामीले सो काम पूरा गरेका हौं । मन्त्रिपरिषद्को स्वीकृतिपछि रबिना एन्ड अभिषा जेभीले अहिले काम धमाधम गरिरहेको छ ।

मैले अघि पनि भनिहालेँ । पालिकामा कोल्ड स्टोर बन्दैछ । सबै वार्डमा वडा कार्यालय बनेको छ । मैले कुनै ठाउँमा विकास गर्न छोडेको छैन । १५ बेडको स्वास्थ्यचौकी मंसिर १५ गते नै शिलान्यास गरेका छौं ।

वडा नं छ मा अवस्थित चमैनिया पोखरीलाई पर्यटकीय सम्भावनासहितको चिल्ड्रेन पार्कको रुपमा विकास गरिरहेका छौं । यसको टेण्डर पनि भइसकेको छ । झण्डै दुई करोडको प्रोजेक्ट हो ।

समग्रमा भन्नुपर्दा ८५ प्रतिशत विकास निर्माणको काम सम्पन्न भइसकेको छ । र, बाँकी बचेका जति काम छन् । सो काम यसै आर्थिक वर्षमा सक्ने हाम्रो योजना छ । कोरोना महामारी नभएको भए सो काम उहिल्यै सकिसक्थ्यो । कोरोनाबाट धेरै काम प्रभावित भएका छन् ।

तपाईं निर्वाचित भएयता के–कस्ता योजना सफल भए ? र, आगामी योजनाहरु के–के छन् ?

मैले अघि नै विकास निर्माणका कामहरुका बारेमा भनिसकेँ । हाम्रो गाउँपालिका विकासका हिसाबले कतै पछि परेको छैन । अहिलेसम्म कसैले यो भएन भनेर औंला ठड्याएको छैन । बोल्न त विपक्षी भएर कसैले भनेको होला । तर, मलाई जहाँसम्म लाग्छ हामी तीव्र गतिमा अगाडि बढेका छौं ।

अझै हामीले धेरै काम गर्नु छ र गरिरहेका पनि छौं । मैले कृषि क्षेत्रमा, स्वास्थ्य क्षेत्र र सडकतिर राम्रै काम गरेँ । पर्यटकीय हिसाब पनि सम्भावना बोकेको यो गाउँपालिकालाई सो क्षेत्रमा अझ अगाडि बढाउने योजना छ । वडा नं ६ को चमैनिया पोखरीलाई चिल्ड्रेन पार्कको रुपमा विकास गरिरहेका छौं । त्यहाँबाट पर्यटकीय रुपमा हामीले निकै आशा गरेका छौं ।

निर्वाचित भएयता कुनै काममा चुकेको महशूस हुन्छ ?

छैन । म अहिले विकासका काममा तीव्र गतिमा अगाडि बढिरहेको छु । निरन्तर पालिकाबासीका लागि खटिरहेको छु । कुनै काममा चुकेको महशूस भएको छैन । अब अन्तिम चरणमा के फिल हुन्छ हेरौं । सबै काम गरिरहेको छु । ‘अल इज फाइन’ तरिकाले अघि बढिरहेका कारण पनि मलाई कतै चुकेको अनुभव छैन ।

तपाईं आगामी निर्वाचनमा के गर्दै हुनुहुन्छ ? पुनः गाउँपालिकामै बस्ने योजना छ कि प्रदेशतिर जानुहुन्छ ?

मैले आफ्नो गाउँ विकास गर्नुछ । यहाँका जनताले विश्वास गरेर मलाई जिताएका हुन् । यो विश्वास कायमै पनि छ र यस पालिकालाई सबैतर्फबाट अगाडि बढाउनका लागि पनि म फेरि गाउँपालिकामै बस्न चाहन्छु । प्रदेशतिर जान्नँ ।

हुनतः पार्टीको पनि यसमा हात हुन्छ । पार्टीको समर्थन भएमा गाउँपालिकामा नै लड्छु । अन्यथा के हुन्छ । हेरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!